काठमाडौं । नेपाल र भियतनामबीच पर्यटक आउजाउका लागि थप दुई चार्टर्ड उडान हुने भएको छ । यसअघि आयोजक रुप्से होलिडेजले गत २१, २५ र २९ अक्टोबरमा हिमालय एयरलाइन्सको एयरबस ३२० जहाज चार्टर गरी काठमाडौं–हनोइ–काठमाडौं रुटमा उडान गरेको थियो ।
ती उडानमा भियतनामबाट २२५ जना र नेपालबाट भियतनाममा ३२८ जना पर्यटक भ्रमणमा गएको कम्पनीले जनाएको छ । पहिलो योजना सफल भएसँगै कम्पनीले अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी सन् २०२४ मा थप दुई चार्टर्ड उडान गर्न लागेको जनाएको छ ।
कम्पनीका अनुसार २०२४ को जनवरी ०५ र जनवरी १० मा थप दुई चार्टर उडान हुने भएको छ । यसअघिको उडानमा काठमाडौं–भियतनाम भ्रमणको प्याकेज मूल्य १ लाख २० हजार तोकिएको थियो । आगामी उडान भने ९९ हजार ९ सय ९९ रुपैयाँमा भियतनाम घुम्न पाउने गरी प्याकेज तोकिएको कम्पनीका प्रबन्ध निर्देशक रमेश पराजुलीले बताए ।
उनका अनुसार यसमा दुई तर्फी हवाई टिकट, पाँच रात होटल र हलोङ्ग बे मा डे क्रुजसहित टुर प्याकेज समेत समेटिएको छ ।
यसअघि सम्पन्न उडान सामान्य चार्टर्ड उडान मात्र नभएर नेपाल र भियतनामबीच एक साथ ठूलो संख्यामा पर्यटक आदान प्रदानको पहिलो अवसर भएको उनको भनाइ छ । यो भियतनाम र नेपालबीच पर्यटकीय सम्भाव्यताको सफल परीक्षण रहेको समेत उनले बताए । एक लाख २० हजार रुपैयाँ खर्चिएर नेपाली पयर्टकले भियतनामको हनोइको पाँच दिने भ्रमण गरेका थिए ।
भियतनामबाट आएका पर्यटकले काठमाडौं, पोखरा, लुम्बिनी र सौराहाको घुमघाम गरेका थिए । नेपाल र भियतनामबीच ३ घण्टाको सोझो उडान दूरी रहेको छ । ‘हामीलाई आर्थिक रुपमा यी उडान मुनाफा योग्य छैनन् । तर, हामीले देशको पर्यटन क्षेत्रको विकासका लागि यो जोखिम उठाएका थियौं,’ उनले भनेका छन्, ‘हामी यसमा अपेक्षाकृत सफल रह्यौं । नेपालको पर्यटकीय स्थानबारे भियतनामसम्म प्रवर्द्धन गर्यौं ।’ १५ प्रतिशत भन्दा बढी बुद्ध धर्मावलम्बी रहेको देश भियतनाममा लुम्बिनीमा बुद्ध जन्मेको प्रचार गरेको उनले बताए ।