भूकम्प पिडितलाई युनान प्रान्तले ५० हजार अमेरिकी डलर सहयोग गर्ने

काठमाडौं । जाजरकोट र रूकुमका भुइँचालो पीडितलाई चीनको युनान प्रान्तले ५० हजार अमेरिकी डलर सहयोग घोषणा गरेको छ। सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको भ्रमण टोलीसँग भएको औपचारिक भेटवार्ता क्रममा चिनियाँ कम्युनिस्ट पार्टी युनान प्रान्तका सचिव वाङ निङले उक्त सहयोग घोषणा गरेका हुन्।

त्यस क्रममा सचिव वाङ निङले असल छिमेकीका हिसाबले नेपाललाई दैवी प्रकोपमा सहयोग गर्न आफूहरू तत्पर रहेको उल्लेख गरे। युनान प्रान्तले कृषिमा हासिल गरेको अनुभव र सीप नेपालसँग साट्न आफूहरू तयार रहेको पनि उनले बताए। अध्यक्ष नेपालले सहयोगका लागि धन्यवाद दिँदै कृषिमा युनानले प्राप्त गरेको उपलब्धिलाई नेपालले सदुपयोग गर्ने प्रतिबद्धता जनाए।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको आमन्त्रणमा अध्यक्ष नेपाल, उपाध्यक्षसमेत रहेका कृषिमन्त्री वेदुराम भुसालसहितको १५ सदस्यीय टोली साताव्यापी चीन भ्रमणमा छ। एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीलाई चीनले पहिलोपटक औपचारिक आमन्त्रण गरेको हो। भ्रमण क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका उच्च तहका नेताहरूसँग भेटघाटको कार्यक्रम रहेको उपाध्यक्ष भुसालले जानकारी दिए।

हाम्रो पार्टीलाई चीनले महत्त्व दिएको पायौं, उनले भने, भेटघाट सुरू भएको छ। नेताहरूसँग भेट्ने देश र पार्टी हितका विषय कुरा हुँदैछन्। उहाँहरूको व्यवहारले हामीलाई उत्साहित बनाएको छ। बिहीबार कुङ्मिङमा राजनीति दल र कृषि कोअपरेसन भन्ने विषयमा चिनियाँ कम्युनिस्ट पार्टीले अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको छ। उक्त सम्मेलनलाई पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले सम्बोधन गर्नेछन्।