काठमाडौं । मन्त्रिपरिषद् पुनगर्ठनको चर्चाले बुधबार पनि नेपालको राजनीतिक सरगर्मी तात्यो । संचारमाध्यमदेखि सामाजिक संजाल यसैको चर्चामा थियो ।
किनकी मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमै मन्त्रीहरुलाई बुधबार कुनै पनि सार्वजनिक कार्यक्रममा नजान भनेका थिए । उनको आषय बुधबार नै मन्त्रिपरिषद्पुनर्गठन हुने र मन्त्रीहरु परिवर्तन हुनेतर्फ थियो । बुधबार त्यसका लागि पटक पटक बैठकहरु समेत भए ।
तर, बाहिर सार्वजनिक नगरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको सूचि भने बुधबार साँझ राष्ट्रपति कार्यालयमा पठाइसकेका छन् ।
केही नयाँ र केही अनुभवी नेताहरु समेटेर सूचि राष्ट्रपति कार्यालयमा गएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।
घनश्याम भुषाल, मोती दुगड, भानुभक्त ढकाल, बसन्त नेम्वांग, हृदयेश त्रिपाठीलगायत नेता मन्त्री बन्दैछन् ।
बुधबार नेकपा सचिवालय बैठकले अध्यक्षद्धयको जिम्मेवारी स्पष्ट बनायो ।
त्यसअघि प्रधानमन्त्री र अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट गरे । त्यसपछि बुधबार नै बिस्तार हुने भनिएको मन्त्रिपरिषद् भने बिस्तार हुन सकेन् ।
बिहीबार केही नयाँ र अधिकांश पुरानै अनुहारसहित मन्त्रिपरिषद् पुनर्गठन गरिदैछ । बिहीबार नै मन्त्रीहरुलाई सपथ गराउने तयारी समेत गरिएको छ ।
त्यसो त मन्त्रीबाट बिदाई हुने हल्ला चलेका कतिपय मन्त्रालयमा बुधबार सुनसान माहौल देखिन्थ्यो । मन्त्रीहरु मन्त्रालयमा अनुपस्थित थिए ।
मन्त्री पदबाट उद्योग मन्त्री मातृका यादव र कृषि मन्त्री चक्रपाणी खनालले आफूहरु हट्ने पक्का भएको सार्वजनिक गरिसकेका छन् । अन्य मन्त्रीहरुका सम्बन्धमा भने केही बाहिरिएको छैन ।