काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले टोखा–छहरे सुरुङमार्ग बनेरै छाड्ने बताएका छन् । शुक्रबार नुवाकोट जिल्ला भलिवल संघद्वारा आयोजित प्रथम अन्तरपालिका स्तरीय विद्यालय छात्र भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री डा. महतले भने, ‘अहिले म अर्थमन्त्री हुने अवसर पाएको छु । नुवाकोटको विकासले थप मौका पाएका छ । बालाजु–ककनी–त्रिशुलीबाट धेरै वर्षदेखि बिग्रिएको थियो, अहिले निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढिसकेको छ । अब त्यो बाटो पक्की बन्छ । उता कुमारी जाने बाटोमा पनि बजेट विनियोजन भएको छ ।’
काठमाडौं–छहरे–टोखा बाटो अहिले राम्रो भइसकेको जानकारी दिँदै उनले भने, ‘सुरुङमार्ग निर्माणका लागि हामीले बजेट छुटाएका छौं, यसका लागि अर्बौ अर्ब रुपैयाँ चाहिन्छ । चिनियाँ सरकारलाई समेत सहभागी गराएर यो बाटो सम्पन्न गर्ने प्रयासमा हामी लागिरहेका छौं । ढिलोचाँडो यो सुरुङ मार्ग बन्छ भन्ने मलाई विश्वास छ ।’
यो सुरुङ मार्ग निर्माण सम्पन्न भएसँगै नुवाकोट र काठमाडौंको दूरी छोटो हुनेछ । नुवाकोटमै बसेर काठमाडौं जागीर खान सकिन्छ । गोल्फुभञ्ज्याङसम्म पक्की बाटो निर्माणका लागि बजेट विनियोजन भएको समेत उनको भनाई छ । उनले शिक्षा र रोजगारीका लागि विदेश जान नपर्ने वातावरण नेपालमै सिर्जना भइरहेको समेत दावि गरे ।