काठमाडौं । काठमाडौंमा बटुवा आफैले बटम थिचेर सडक बत्ति बाल्ने प्रणाली जडान थालिएको छ । पहिलो चरणमा बबरमहलमा यो प्रणाली कार्यान्वयनमा ल्याउन लागिएको छ । अब बटुवा आफैँले बटन थिचेर सवारी साधनका लागि रातो बत्ती बाल्ने र बाटो पार गर्ने आधुनिक प्रणाली जडान गरिएको हो ।
काठमाडौं जिल्ला अदालत अगाडि जेब्राक्रसमा पोलमा राखिएको बटन थिच्दा गाडी आइरहेकोतिर रातो र बटुवा उभिएको सडक छेउपट्टि हरियो बत्ती बल्छ । एकपटक बटन थिचेपछि ३० सेकेन्डसम्म बत्ती बल्ने र त्यसपछि दुई मिनेटसम्म फेरि बटन थिच्दा बत्ती नबल्ने गरी मिलाइएको छ ।
रातो बत्ती बलेपछि गाडी रोकिन्छन् र यात्रुले बाटो पार गर्न सक्छन् । यात्रुको चापअनुसार समयको सेटिङमा केही फेरबदल गर्न सकिने महानगरपालिकाले जनाएको छ । ट्राफिक प्रहरीले जथाभाबी बटन नथिच्न र सकेसम्म ८–१० जना यात्रु जम्मा भइसकेपछि मात्रै बटन थिचेर सडक पार गर्न अनुरोध गरेको छ ।
बबरमहलबाहेकका अरु ठाउँमा पनि यस प्रकारको ट्राफिक बत्ती जडानको तयारी भइरहेको महानगरपालिकाको भनाई छ । महानगरपालिकाका अनुसार मुख्य सडक आसपास रहेका स्कुल तथा सडक पार गर्ने विद्यार्थीको सङ्ख्या बढी हुने ठाउँमा यस प्रकारको बत्ती राखिनेछ ।