थाइल्याण्डमा बिहेकै दिन बेहुलाले बेहुलीसहित चार जनाको गरे हत्या

GETTY IMAGES

काठमाडौं । थाईल्यान्डमा अपाङ्गता भएका एक खेलाडीले आफ्नै बिहेको दिन गोली हानी बेहुली र अरू तीन जनाको हत्या र त्यसपछि आत्महत्या गरेको प्रहरीले बीबीसीलाई बताएको छ। उनी भूतपूर्व सैनिक पनि हुन्। प्रहरीका अनुसार गत शनिवार २९ वर्षीय चतुलोङ सुक्सुक र ४४ वर्षीया कान्चना पाथुन्टुकको विवाह पूर्वोत्तर थाईल्यान्डमा भएको थियो। सञ्चारमाध्यममा प्रकाशित विवरणअनुसार बेहुला चतुरङ सुक्सुक बिहेको भोजबाट अकस्मात् बाहिर गए। फर्केर आउँदा उनले एउटा बन्दुक ल्याए।

त्यही बन्दुक चलाएर उनले आफ्नी नवविवाहिता पत्नी, उनकी ६२ वर्षे आमा र ३८ वर्षे बहिनीको ज्यान लिए। उक्त समारोहमा उपस्थित अरू दुई जनालाई पनि गोली लागेको थियो। उनीहरूलाई स्थानीय अस्पतालमा लगिएको थियो। उपचारका क्रममा तीमध्ये एक जनाको मृत्यु भयो।

प्रहरीले बीबीसीलाई दिएको जानकारीअनुसार चतुलोङ घटना भएका बेला “निकै मातेका थिए। तर उनले किन त्यस्तो घातक काम गरे भन्ने स्पष्ट भइसकेको छैन। प्रहरीका अनुसार उनले गत वर्ष बन्दुक र गोली वैधानिक रूपमै किनेका थिए। स्थानीय सञ्चारमाध्यमका अनुसार बिहेमा आएका निम्तालुहरूले प्रहरीलाई बताएअनुसार भोजका बेला नवदम्पतीबीच केही भनाभन भएको थियो।पत्नी र आफ्नो उमेरमा ठूलो भिन्नता भएकाले उनले केही असुरक्षित महसुस गरेको विवरण पनि आएको छ।

तर प्रहरीले त्यसलाई अनुमान मात्र भनेको छ। आफूले प्रमाण सङ्कलन गरिसकेको र यो घटनाको छानबिन “छिट्टै” टुङ्गोमा पुग्ने उसको भनाइ छ। चतुरङ र कन्चना बिहे गर्नुअघि तीन वर्षदेखि सँगसँगै बस्दै आएका थिए। चतुरङले गत वर्ष इन्डोनेशियामा भएको आसियान प्यारा गेम्समा पौडी प्रतियोगितामा रजत पदक जितेका थिए। थाईल्यान्डमा आगामी महिना हुने वर्ल्ड अबिलिटीस्पोर्ट गेम्समा उनी पनि सहभागी हुने ठानिएको थियो।

उनले थाईल्यान्डको सीमामा गस्ती लगाउने प्यारामिलिट्री लाइट इनफ्यान्ट्री फोर्समा पनि काम थिए। कामकै सिलसिलामा उनले दाहिने खुट्टा गुमाउन पुगेका थिए। थाईल्यान्डमा कानुनी स्वीकृति लिएर बन्दुक राख्न पाइन्छ। गत महिना एउटा ब्याङ्ककको एउटा व्यापरिक मलमा गोली प्रहार हुँदा तीन जनाको ज्यान गएको थियो। एक वर्षअघि पूर्वोत्तर थाईल्यान्डमा एक पूर्वप्रहरीले बन्दुक र चक्कु प्रहार गरी एउटा शिशुविद्यालयमा ३७ बालबालिकाको ज्यान लिएका थिए।