काठमाडौं । दूरसंचार सेवा प्रदायक एनसेलको मुख्य लगानीकर्ता मलेसियाको आजियाटा ग्रुप बर्हार्ड बाहिरिने घोषणा गरेको छ ।
कम्पनीले बुधबार एक विज्ञप्ति जारी गर्दै आफ्नो स्वामित्वमा रहेको सम्पत्ति बेचेर बाहिरिने जानकारी दिएको हो । एनसेलमा आजियाटा ग्रुपको ८० प्रतिशत सेयर स्वामित्व छ। बाँकी २० प्रतिशत सेयर नेपाली मूलका व्यवसायीको सुनिभेरा क्यापिटल भेन्चरको नाममा छ।
आजियटाले ७ वर्ष अघि युरोपियन टेलिकम कम्पनी टेलिया सोनेरासँग एनसेलको सेयर किनेको थियो । नेपालमा व्यावसायिक वातावरण चुनौतीपूर्ण हुँदै गएकाे भन्दै आजियटा बाहिरिने निष्कर्षमा पुगेको हो ।
नेपालको अवस्था चुनौतीपूर्ण रहेको, व्यवसाय विस्तार हुन नसकेको, आम्दानी निरन्तर घट्दै गएकाले बाहिरिने निर्णयमा पुगेको कम्पनीले जनाएको छ ।
आजियटाको सेयर नेपाली साझेदाहरुले नै किन्ने जनाइएको छ । यद्यपि, यसबारे कम्पनीले केही जानकारी गराएको छैन ।
पछिल्ला वर्षहरुमा एनसेलको व्यापार लगातार गिरावट आइरहेको छ । २०१९/२० मा ४६ करोड ८७ लाख रुपैयाँको कारोबार गरेको कम्पनीले २०२०/२१ मा ४० अर्ब ४२ करोड, २०२१/२२ मा ३९ अर्ब ७२ करोड र सन् २०२२/२३ मा घटेर। ३७ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको छ ।
नेपाली दूरसंचार बजारमा एनसेलको बजार हिस्सा झन्डै आधा रहेको छ ।