काठमाडौं । मलेसियन कम्पनी आजियाटाले नेपाल छाड्दैछ । उसले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गर्ने भएको नेपाली सञ्चारमाध्यमले पुष्टी गरेका छन् । आजिआटाले आफ्नो सेयर ५ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६६ करोडमा स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बेचेको बताइएको छ ।
सन् २०२९ सम्म एनसेलले पाउने लाभांश भने आजिआटाले नै पाउने गरी डिल भएको समेत समाचारमा उल्लेख छ । यसबारे आजिआटाले विज्ञप्ति जारी गरी बताएको हो । स्पेक्ट्रलाइट यूके लिमिटेड बेलायतमा दर्ता भएको कम्पनी हो । यसको सञ्चालकमा सतिशलाल आचार्य छन् । आचार्य एनसेलमा २० प्रतिशत हिस्सा भएको सुनिभेरा क्यापिटल भेन्चर्सका सञ्चालक पनि हुन् । अब एनसेलमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आचार्य समूहकै शतप्रतिशत शेयर स्वामित्य कायम हुने भएको छ ।
आजिआटाले आफ्नो शतप्रतिशत सेयर रहेको रेनोल्डस् होल्डिङ लमिटेड बेलायती कम्पनीलाई बिक्री गरेको विज्ञप्तिमा उल्लेख छ । आजियाटाले सात वर्षअघि स्विडेनको टेलियासोनेरासँग रेनोल्ड होल्डिङ खरिद गरेको थियो । एनसेलमा रेनोल्डको शतप्रतिशत सेयर छ ।
आजिआटा सन् २०१६ मा नेपालमा भित्रिएको थियो । त्यसबेला १ अर्ब ३६ करोड अमेरिकी डलर अर्थात् त्यसबेलाको विनियमदरअनुसार १ खर्ब ४३ अर्ब रुपैयाँमा एनसेलको सेयर उसले किनेको थियो । एनसेलले गत आर्थिक वर्षमा मात्रै ३९ अर्ब ८१ करोड आम्दानी गरेको थियो भने ५ अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । सन् २०२३ को तेस्रो त्रैमाससम्ममा एनसेलले २८ अर्ब २७ करोड आम्दानी गरिसकेको छ ।
एनसेलको लाइसेन्स सन् २०२९ सम्म छ । विद्यमान कानूनअनुसार त्यसपछि त्यो लाइसेन्स सरकारको नाममा आउनेछ । त्यसो हुँदा लाइसेन्सको अवधिभरको डिभिडेन्ड आजियाटाले लिने, त्यसबीचमा आकस्मिक लाभ केही भयो भने त्यो पनि आजिआटाकै हुने गरी स्पेक्ट्रलाइट युकेसँग सम्झौता भएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।