कोशी प्रदेशका तीन मन्त्रीहरूको जिम्मेवारी तोकियो, ५ मन्त्रालय मुख्यमन्त्रीसँगै

काठमाडौं । कोशी प्रदेशका तीन मन्त्रीहरूको जिम्मेवारी तोकिएको छ । मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा मन्त्रीमण्डलमा रहेका माओवादी केन्द्रका गणेश उप्रेती, नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जबेगु र कांग्रेसका शमशेर राईले मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

राईलाई आन्तरिक मामिला तथा कानुन, उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र जबेगुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका जिम्मेवारी तोकिएको प्रदेश प्रमुखको कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्‍तिमा उल्लेख छ।

गत असोज २७ गते नियुक्त भएका मुख्यमन्त्री केदार कार्कीले सोही दिन शमशेर राई र एमालेका राम रानालाई मन्त्री नियुक्त गरेका थिए । यस्तै कार्तिक १७ गते माअ‍ोवादी र एकीकृत समाजवादीका तर्फबाट उप्रेती र जबेगुलाई नियुक्त गरेका थिए । तर उनीहरुको जिम्मेवारी तोकिएको थिएन।