पशुपतिमा बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख देखाइँदै

काठमाडौं । पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख मंगलबार बिहान पशुपति क्षेत्रमा सर्वसाधारणका लागि प्रदर्शन गरिने भएको छ ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन वर्षभर सुरक्षित राखिएको छ भनेर बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख सर्वसाधारणलाई देखाउने गरिन्छ ।

यो वर्ष त्रयोदशीका दिन आइतबार सर्वसाधारणका लागि पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख सुरक्षित छ भनी प्रदर्शन गरिएको थियो । मंगलबार भने अब अर्को वर्षलाई यी सामग्री सुरक्षित साथ राखिन्छ भनी देखाउन लागिएको कोषले जनाएको छ ।

बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंखलाई मार्गशीर्ष कृष्ण औँसीका दिन मंगलबार भण्डारको तेस्रो तलामा राख्ने कार्यक्रम छ । राख्नुअघि अर्थात् बिहान १० बजे अगावै पशुपतिनाथमा बाला चतुर्दशीका दिन मेलामा आएका भक्तजनका लागि सुरक्षित छ भनी यी सामग्री देखाइँदै छ ।