एमाले सांसद कोइरीलाई सफाइ, लोसपाका सांसदसहित ७ जनालाई जन्मकैद

काठमाडौं । मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोग लागेका नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीले कर्तव्य ज्यानसम्बन्धी मुद्दाबाट सफाइ पाएका छन्।

न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासमा गत सोमबारदेखि निरन्तर सुनुवाइ भइरहेको थियो। जिल्ला अदालत महोत्तरीले बिहीबार कोइरीलाई सफाइ दिने आदेश सुनाएको हो ।

कोइरीसँगै अर्का अभियुक्त पवन कापरले पनि सफाइ पाएका छन्।प्रहरीको फरार सूचीमा रहेकै अवस्थामा कोइरी २०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा एमालेको तर्फबाट महोत्तरी-१ बाट निर्वाचित भएका थिए।

उनले वारेसमार्फत् प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गराएका थिए भने चुनाव जितेपछि प्रमाणपत्र पनि वारेसमार्फत् नै बुझेका थिए।

सशस्त्र प्रहरीका असई थमन विकको हत्यासम्बन्धी यस मुद्दामा सांसद कोइरीसहित २८ जना अभियुक्त थिए। तीमध्ये ७ जना अभियुक्तलाई भने कर्तव्य ज्यान मुद्दामा जन्मकैद र आगो लगाएको कसुरमा थप ६ महिना कैद कैद सजाय हुने भएको छ।

यो सजाय पाउनेमा सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, शंकर शाही भन्ने रामशंकर मिश्र, अभिराम शर्मा, सुरेश पाण्डे र धर्मेन्द्र राय छन्। अभिराम शर्मा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका मधेस प्रदेशका सांसद हुन्। उनीहरू महोत्तरी ३(१)बाट निर्वाचित भएका हुन्। रामशंकर मिश्र जलेश्वर नगरपालिकाका प्रमुख हुन्।

महोत्तरी जिल्ला अदालतमा कोइरीविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ चलिरहँदा थमन विककी पत्नी शोभा गहतराज न्यायको माग गर्दै काठमाडौँ आएकी थिइन्।