काठमाडौं । इजरायलको सेनाले गाजामा लडाइँका क्रममा भुलवश तीनजना बन्धकहरू मारिएको जनाएको छ। उनीहरूलाई जोखिमका रूपमा गलत पहिचान हुँदा त्यसो हुन पुगेको इजरेली डिफेन्स फोर्स आइडिएफले जनाएको छ। ती २८ वर्षीय योतम हइम, २२ वर्षीय समीर तलल्का र र २६ वर्षीय एलोन सम्रिज रहेको जनाइएको छ।
इजरायली सेनाले आत्मग्लानि महसुस गरेको जनाउँदै उनीहरूको उत्तरी गाजामा तैनाथ फौजहरूको गोली प्रहारबाट मृत्यु भएको जनाएको छ। इजरायमा ७ अक्टोबरमा भएको हमलापछि नियन्त्रणमा लिइएकामध्ये १०० भन्दा धेरै अझै गाजामा बन्धक अवस्थामा छन्।
आइडिएफले शुक्रवारको घटना अनुसन्धानका क्रममा रहेको बताउँदै त्यस दुखद घटनालाई लिएर गहिरो आत्मग्लानि व्यक्त गरेको र उनीहरूका परिवारलाई समवेदना जनाइएको उल्लेख गरेको छ। जसमा थप भनिएको छ हाम्रो राष्ट्रिय उद्देश्य हराइरहेकालाई खोज्ने र सबै बन्धकहरूलाई घर फिर्ता ल्याउने छ।
गलत पहिचान कसरी भयो भन्ने विषयमा आइडिएफका एकजना प्रवक्ता जोनाथन कनरिकसले दुई सम्भावित कारण बताए। “एक, उनीहरू सर्वसाधारणले लगाउने पोसाकमा थिए, जुन सम्भवतः हामीले हमास लडाकुहरूलाई जस्तो स्वरूपमा देख्छौँ त्यस्तै थियो,” उनले भने। तर उनले ती बन्धकहरूसँग हतियार थियो कि थिएन भन्नेबारे प्रस्ट पारेनन्। “दोस्रो चाहिँ यस दुस्खद् गल्ती हुनुअघि र पछि उक्त क्षेत्रमा इजरेली फौज र हमासका लडाकुबीच लडाइँ भएको थियो।”
उक्त घोषणापछि मध्य तेलअभिभमा सयौँ मानिसहरू जम्मा भएर उक्त सहरमा रहेको आइडिएफको सैन्य शिविरतर्फ गएका थिए। उनीहरूले सरकारसँग बाँकी बन्धकहरूलाई छुटाउनेगरी सम्झौता गर्न माग गरेका छन्। प्रदर्शनकारीहरूले मैनबत्ती एवं उनीहरूलाईे घर ल्याउन र अब बन्धक साटासाट गरौँ लेखिएका प्लेकार्ड बोकेका थिए। मारिएका तीनजना पुरुषहरूका शवलाई इजरायल ल्याएर उनीहरूको पहिचान पुष्टि गरिसकिएको छ। इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले उनीहरूको मृत्युलाई असह्य दुःख भनेका छन्।
ूयस दुःखद् साँझमा समेत हामी आफ्नो घाउमा पट्टि लगाउँदै, पाठहरू सिक्दै र हाम्रा सबै बन्धक बनाइएकाहरूलाई सुरक्षित घर फर्काउने उच्चतम प्रयास जारी राख्नेछौँ, उनले भने। ह्वाइटहाउसका प्रवक्ता जोन किर्बीले ती हत्या एउटा दुस्खद् भूल भएको र अमेरिकासँग त्यस कारबाही ठ्याक्कै कसरी भयो भन्ने जानकारी नरहेको बताए। अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा १,२०० जनाको ज्यान गएको थियो भने २४० जनालाई बन्धक बनाएर लगेको थियो जसमध्ये केही एउटा अस्थायी युद्धविरामका क्रममा छाडिएका थिए।
त्यसयता इजरेलले गरेको हमलामा १८,८०० जनाभन्दा बढी मारिएको र ५०,००० भन्दा धेरै घाइते हुन पुगेको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। अल जजिराले आफ्ना एकजना पत्रकार समिर अबु दका गाजाको खान यूनिसमा भएको क्षेप्यास्त्र प्रहारमा परेर मारिएको जनाएको छ। इजरायलले हमासले बन्धक बनाएका थप तीन मानिसहरूको शव गाजाबाट बरामद गरेको जनाएको छ। जसमध्ये दुई इजरेली सैनिक र एक सर्वसाधारण छन्।