काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको सिक्किमसँग जोडिएको पाँचथरको चिवाभञ्ज्याङमा नेपालको राष्ट्रिय झन्डा फहराएका छन्। यसअघि मंसिर १४ गते ओलीले बैतडीको झुलाघाटमा राष्ट्रिय झन्डा फहराएरै यो अभियानको थालनी गरेका थिए।
आइतबार फिदिमबाट हेलिकप्टरमा चिवाभञ्ज्याङ पुगेका ओलीले सीमाक्षेत्रमा नेपालको झन्डा फहराएसँगै संकल्प यात्रा टुंगिएको हो।
ओली मध्यपहाडी राजमार्गको पूर्वीबिन्दु चिवाभञ्ज्याङमा झण्डोत्तोलन गरेसँगै आइतबार नै काठमाडौँ फर्किने तयारीमा छन्।
मङ्सिर १४ गतेदेखि सुरु एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आइतबार बिहान पाँचथरको चिवाभञ्ज्याङ पुगेको थियो।
मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा यो यात्रा थालिएको थियो।
यात्रामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोलीसहित थिए।