काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायु सेवा निगमको ग्राउन्ड ह्यान्डलिङको विषयमा कुनै पनि कुरा नउठाउन कर्मचारीलाई निर्देशन दिएका छन् । आइतवार नेपाल नागरिक उड्डयन प्राधिकरणको २५ औँ वार्षिकोत्सव समारोहमा मन्त्री किरातीले ग्राउन्ड ह्यान्डलिङको विषयमा कर्मचारीले अनावश्यक चासो राखेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
उनले नेपाल वायु सेवा निगमको ग्राउन्ड ह्यान्डलिङको विषय सरकारको निर्णयको कुरा भएको भन्दै कर्मचारीले अनावश्यक कोकोहोलो गर्नु आवश्यक नभएको बताए । मन्त्री किरातीले देशलाई वायु सेवा निमग चाहिने र त्यसलाई बचाउनका लागि ग्राउन्ड ह्यान्डलिङ पनि चाहिने स्पष्ट पारे । कर्मचारीले यस विषय उठाएमा नीति र नेतृत्वमाथिको हस्तक्षेप हुने उल्लेख गर्दै मन्त्री किरातीले कुरा उठाएमा राम्रो नहुने चेतावनीसमेत दिए ।
उनले भने, ‘वायु सेवा निगमको बारेमा विना प्रसङ्ग किन बढी कुरा उठ्छन् ? के तपाईँ (कर्मचारी) हरू नीति निर्माता हो ? पटक–पटक तपाईँहरू किन वायु सेवा निगमको कुरा उठाउनुहुन्छ यहाँ ? निगमले ग्राउन्ड ह्यान्डलिङ लिने कि नलिने भन्ने प्रश्नमा किन तपाईँहरू ठूलो–ठूलो धुवाँ उडाउनुहुन्छ ? कोकोहोलो गर्नुहुन्छ ? आजदेखि बन्द गर्नुहोस् । यो प्रधानमन्त्रीको सरोकारको कुरा हो । देशका सबै ठूलो राजनीतिक दलहरूको सरोकारको कुरा हो । वायु सेवा निगम अहिले चाहिन्छ । त्यसलाई बचाउनका निम्ति ग्राउन्ड ह्यान्डलिङ चाहिन्छ ।’
मन्त्री किराती कर्मचारी ट्रेड युनियनका नेताहरूमाथि समेत आक्रोशित भए । उनले कर्मचारीले धेरै नीतिगत कुरा गरेको भन्दै भाषण गर्ने कर्मचारी नै प्रधानमन्त्री हो कि जस्तो लागेको भनेर व्यङ्ग्य गरे । उनले नीतिको चिन्ता प्रधानमन्त्री, मन्त्रीहरूले गर्ने भन्दै नेतृत्वले बनाएको नीतिमा कर्मचारी हिँड्नुपर्ने बताए ।