अमेरिकाबाट एक वर्षमा नेपाल भित्रिए १ लाख भन्दा धेरै पर्यटक

काठमाडौं । नेपालले एक वर्षको अवधिमा १० लाख १५ हजार पर्यटकलाई स्वागत गरेको छ । यसमध्ये दोस्रो स्थानमा अमेरिकी नागरिक पर्न सफल भएका छन् । पहिलो स्थानमा भारतीय छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरी २०२३ देखि डिसेम्बर २०२३ को एक वर्षको अवधिमा १० लाख १४ हजार ८७६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो आगमन सन् २०२२ को तुलनामा ४ लाख ७२८ जना बढी हो । सन् २०२३ मा ६ लाख १४ हजार १४८ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०२३ मा भारतबाट मात्र ३ लाख १९ हजार ९३६ जना पर्यटक नेपाल आएका छन् । सन् २०१९ मा २ लाख ५४ हजार १५० जना भारतीय पर्यटक नोपल आएका थिए । सन् २०२३ मा अमेरिकाबाट १ लाख ३५७ जना पर्यटक नेपाल आएका छन् । सन् २०१९ मा अमेरिकाबाट ९३ हजार २४१ जना पर्यटक आएका थिए । यस वर्ष चीनबाट ६० हजार ८७८ जना मात्र पर्यटक आएका छन् । सन् २०१९ मा चिनियाँ पर्यटकको आगमन १ लाख ६९ हजार ५४३ रहेको थियो ।

नेपालको पर्यटन इतिहासमा १० लाख माथि पर्यटक आगमन भएको यो तेस्रो वर्ष हो । यसअघि सन् २०१८ र सन् २०१९ मा १० लाख माथि पर्यटक भित्रिएका थिए । सन् २०१८ मा ११ लाख ७३ हजार ७२ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए । सन् २०१७ मा ९ लाख ४० हजार २१८ जना पर्यटक नेपाल आएका थिए ।