काठमाडौं । काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम घट्ने क्रम जारी छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा आज बिहान न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ । हिजो न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस थियो ।
उपत्यका र आसपासका क्षेत्रमा अहिले कुहिरो र हुस्सु लागेको छ । त्यस्तै, तराई–मधेसका केही ठाउँमा बाक्लो हुस्सु र कुहिरो छ । घाम लाग्दै जाँदा मौसममा क्रमिक सुधार हुँदै जाने बताइएको छ । नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
देशका कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली छ । यी प्रदेशका हिमाली क्षेत्रमा भने हल्का हिमपात हुने सम्भावना छ । आज राति पूर्वी पहाडी जिल्लामा मौसम आंशिक बदली हुने अनुमान छ । देशका बाँकी ठाउँमा आजको मौसम सामान्यतया सफा नै रहने अनुमान छ ।