काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल प्राकृतिक दृष्टिले जोखिमयुक्त मुलुक भएको भन्दै विपतको जोखिमबाट बच्न राम्रो पूर्वतयारी आवश्यक रहेको बताएका छन् । बुधबार दिउँसो ललितपुरमा आयोजित भूकम्प प्रभावित क्षेत्रमा विपत् व्यवस्थापन तथा पुनर्निर्माणसम्बन्धी बृहत् अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले उक्त धारणा राखेका हुन् ।
नेपाल भूकम्पको जोखिमका दृष्टिले उच्च जोखिममा रहेको र नेपालका पश्चिमी क्षेत्रमा ठूला भूकम्पहरू आउन सक्ने सम्भावनाबारे कतिपय विज्ञहरूले भन्दै आएका छन् । वर्ष दिनभित्रै जाजरकोट, बझाङ र डोटीमा गएका भूकम्पले यसको पूर्वसंकेत गरेको छ,’ उनले थपे, ‘असोज १६ गतेपछि एक महिनाको अन्तरालमा बझाङ र जाजरकोट भूकम्पको लगत्तै म दुवै स्थानमा पुगेँ । त्यहाँको अवस्था देख्दा लाग्यो– मध्यम खालको भूकम्प आउँदा त यस्तो अवस्था छ भने हालैको जापानमा गएको जत्रो ७.६ म्याग्निच्युडको भूकम्प वा २०७२ सालको जत्रो भूकम्प गएको भए त्यसले सिर्जना गर्ने त्रासदी हामीले झेल्न सक्थ्यौं होला र ?’
प्रधानमन्त्री दाहालले विपतको पूर्वजोखिम आंकलन गरी त्यसको तयारीमा जुट्नुपर्नेमा जोड दिए । उनले भने, ‘विपद पूर्व जोखिमको आंकलन गरी सोहीअनुरूपको संरचना र तयारीका काममा उदासिनता रहने गरेको छ । त्यसैले यसपटक श्रृंखलाबद्ध रूपमा आएका भूकम्पहरूले हामीलाई जोखिम प्रतिरोधी संरचना र सोही अनुरूपको निरन्तर तयारीका लागि घच्घच्याएको छ । त्यसैले पुनर्निर्माणका लागि गतिलो तयारी गर्ने, भूकम्पप्रतिरोधी डिजाइन तयार पार्ने, बलियो संरचना बनाउने तथा पर्याप्त बजेट व्यवस्था गर्ने विषयमा मेरो जोड छ ।’