काठमाडौं । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन काठमाडौं आउने भारतीय विदेशमन्त्री एस जयशंकरले आजै उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने भएका छन् । भारतीय वायु सेवाको विशेष विमानमार्फत् आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने जयशंकरले राष्ट्रपति, प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतलाई आजै भेट्ने छन् । काठमाडौंस्थित भारतीय दूतावासले दिएको जानकारी अनुसार जयशंकर आज बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितल निवास पुग्ने छन् ।
त्यसपछि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री प्रचण्डसँग मध्याह्न १२ बजे बालुवाटारस्थित निवासमा भेट्ने कार्यक्रम तय भएको छ । दिउँसो १ बजे परराष्ट्र मन्त्रिस्तरीय आयोगको बैठकमा सहभागी हुने विदेशमन्त्री जयशंकरले दिउँसो ३ बजेर ४० मिनेटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग र साढे ४ बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ताको समय निर्धारण गरिएको छ । बेलुका परराष्ट्रमन्त्री एनपी साउदले आयोजना गर्ने रात्रिभोजमा उनी सहभागी हुनेछन् ।
शुक्रबार बिहान ८ बजे उनी पशुपतिनाथ मन्दिरमा पूजा गर्न जाने छन् । सोही दिन १२ बजेपछि उनी नयाँदिल्ली फर्किनेछन् । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन काठमाडौं आउन लागेका भारतीय विदेशमन्त्री जयशंकर नेतृत्वको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वागत गर्ने छन् ।