काठमाडौं । सरकारले रुस र युक्रेनका लागि श्रम स्वीकृति दिन बन्द गरेको छ । वैदेशिक रोजगार विभागले यस्तो जानकारी गराएको हो । विभागका अनुसार अब संयुक्त अरब इमिरेट्स (यूएई) बाट पनि नेपालीहरु रुस जान पाउने छैनन् । वैदेशिक रोजगार विभागले रुस र युक्रेनमा भएको युद्ध र त्यसमा नेपाली मारिएको घटना सार्वजनिक भइरहेको प्रसंग उल्लेख गर्दै श्रम स्वीकृति रोकेको बताएको छ ।
‘हाल रसिया तथा युक्रेनबीच युद्ध भइरहेको तथा नेपाली नागरिक रुसी सेनामा भर्ना भई युद्धमा दुःखद् निधन भएका समाचार विभिन्न समाचारपत्रमा आइरहेको सन्दर्भमा,’ विज्ञप्तिमा भनिएको छ, ‘अध्ययन तथा छानबिनसमेत भइरहेकोले वैदेशिक रोजगारीको सिलसिलामा संस्थागत वा व्यक्तिगत रूपमा नेपाली नागरिक रसिया जाँदा हुन सक्ने थप क्षतिलाई न्यूनीकरण गर्न र यस विषयलाई मध्यनजर गरी हाललाई अर्को व्यवस्था नभएसम्म रसिया र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ ।’ यूएईको राजधानी आबुधाबीस्थित नेपाली दूतावासले पनि यूएईबाट रुसको यात्रा गर्न दूतावासको नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) चाहिने जनाएको छ ।
रुसी सेनामा भर्ना हुन गएका मध्ये ठूलो संख्या यूएईमा कार्यरत नेपाली रहेको पुष्टि भएको छ । अहिले मारिएका अधिकांश नेपाली यूएईको सुरक्षा गार्डदेखि बाइक राइडरसम्म छन् । ‘सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति र पेसा व्यवसायमा संलग्न भएका बाहेक यूएईमा बसोबास गर्ने नेपालीले रुस भ्रमण गर्नुपरेमा यस दूतावासबाट एनओसी लिएर मात्रै यात्रा गर्नुहुन नेपाल सरकारको निर्णयअनुसार सबैमा अपिल गरिन्छ,’ बिहीबार दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
रुसी सेनामा भर्ती भई युक्रेनसँग लड्ने नेपालीको संख्या बढेपछि सरकारले श्रम स्वीकृतिमा रोक लगाएको बताइएको छ । युक्रेनी सेनामा समेत नेपालीको संलग्नता हुने सम्भावना बढेपछि युक्रेनसमेत जान रोक लगाइएको छ । विभागले रुस जानका लागि मंसिरमा ४० जनालाई श्रम स्वीकृति दिएको थियो । विभागका अनुसार श्रमस्वीकृति लिएर पछिल्लो १७ महिनामा ६ सय ३६ नेपाली रुस गएका छन् ।
सबैभन्दा बढी पछिल्लो ५ महिनामा ३ सय ४४ जना गएको देखिन्छ । साउनमा ५३, भदौमा १ सय ६१, असोजमा ४७ र कात्तिकमा ४३ नेपाली रुस गएका छन् । अध्यागमन विभागका अनुसार २०२२ को जनवरीदेखि नोभेम्बर २०२३ सम्म अध्ययन, श्रम र भिजिट भिसामार्फत २९ सय जना रुस गइसकेका छन् ।
रुस र युक्रेनबीच २ वर्षदेखि करिब १७ सय किलोमिटर फ्रन्टलाइन (सीमाक्षेत्र) मा युद्ध चर्किरहेको छ । रुस–युक्रेन युद्धपछि झन्डै १२ सय नेपालीले युक्रेन छाडेका थिए । युक्रेनविरुद्धको युद्धपछि रुसले नेपालीलाई आफ्नो सेनामा भर्ती गराइरहेको छ । रुसले सैन्य समूहमा न्यूनतम एक वर्ष सेवा गर्ने विदेशीलाई नागरिकता नै दिने र अन्य सेवामा भन्दा चार गुणा बढी तलब दिने गरी कानुन जारी गरेपछि नेपाली युवाको आकर्षण बढेको छ ।
रुसी सेनामा भर्ती हुनेमा अधिकांश पूर्वनेपाली सेना, पूर्वप्रहरी, पूर्वमाओवादी लडाकु छन् । रुसी सेनामा भर्ती भएका नेपालीले कम्तीमा ७ सय नेपाली भर्ना भइसकेको दाबी गरेका छन् । तर, सरकारले भने दुई सय नेपाली मात्र रुसी सेनामा भर्ना भएको दाबी गर्दै आएको छ ।
केही समयअघि एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरूको जानकारीमा दुई सय नेपाली रहेको बताएका थिए । विभिन्न प्रलोभनमा परेर रुसी सेनामा भर्ना भएका नेपालीमध्ये १० जनाको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ । सय जना सम्पर्कविहीन छन् । त्यस्तै रुसी सेनामा भर्ती भएका ४ जना नेपाली युक्रेनी सेनाको नियन्त्रणमा छन् ।