टी-२० विश्वकपमा नेपालको समूहमा कुन कुन मुलुक परे ?

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालको पहिलो खेल नेदरल्याण्ड्ससँग जुन ४ मा हुनेछ । नेपालले दोस्रो खेल जुन ११ मा श्रीलंकासँग तेस्रो खेल जुन १४ मा साउथ अफ्रिकासँग र जुन १६ मा बंगलादेशसँग खेल्नेछ । नेपालले दुई खेल अमेरिकामा र दुई खेल वेष्ट इन्डिजमा खेल्नेछ । भारत र पाकिस्तान भने एउटै समूहमा परेका छन् । उनीहरु रहेको समूह एमा आयरल्याण्ड क्यानडा र अमेरिका छन् ।

समूह बीमा इंग्ल्याण्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड र ओमान छन् । समूह सीमा न्यूजिल्याण्ड, घरेलु टोली वेष्ट इण्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्युगिनी छन् । हरेक समूहमा रहेका देशले ४–४ खेल खेल्ने छन् र समूहका शीर्ष दुई टिम सुपर एटमा पुग्नेछन् । जहाँ ८ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । दुवै समूहको शीर्ष दुई-दुई टोलीले सेमिफाइनल खेल्ने छन् ।

यसअघि जुन ४ देखि ३० सम्म हुने भनिएकोमा आईसीसीले मिति हेरफेर गरेको छ । अब टी-२० विश्वकप जुन १ देखि २९ सम्म हुनेछ । पहिलो खेल अमेरिका र क्यानडाबीच जुन १ मा डल्लासमा हुनेछ । गत कात्तिकमा काठमाडौंमा भएको टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा यूएईलाई ८ विकेटले सहजै पराजित गर्दै नेपालले १० वर्षपछि टी-२० विश्वकपमा स्थान पक्का गरेको थियो ।