काठमाडौं । भारत र माल्दिभ्सबीच चर्किएको वाकयुद्धले माल्दिभ्सको पर्यटनमा नकारात्मक असर पर्ने अनुमान गरिएको छ । माल्दिभ्सले भारत र त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीको बारेमा आपत्तिजनक टिप्पणी गर्ने तीन मन्त्रीलाई निलम्बन गरिसकेको छ । तर, भारतमा ब्वाइकट माल्दिभ्स अभियान चलाइएको छ । यस अभियानलाई क्रिकेट र बलिउड सलिब्रेटीले समेत साथ दिएका छन् ।
माल्दिभ्स भारतीय भीआइपी र सेलिब्रेटीहरुबीच लोकप्रिय गन्तब्य हो । पछिल्लो समय भारतीयहरुले हजारौं बुकिंग रद्द गरेको समाचार सार्वजनिक भइरहेका छन् । माल्दिभ्सका तीन जना मन्त्रीले सामाजिक सञ्जाल पोस्टमा प्रतिक्रिया दिँदै मोदीलाई विदूषक, आतङ्ककारी र इजरेलको कठपुतली भनेका थिए।
मोदीबारे त्यस्तो टिप्पणी गरिएको भोलिपल्ट भारतले माल्दिभ्सका उच्चायुक्तलाई स्पष्टीकरण दिन बोलाएको थियो । माल्दिभ्सको विदेश मन्त्रालयका एक प्रवक्ताले ती टिप्पणीहरू व्यक्तिगत भएका र तिनले सरकारको धारणा प्रतिनिधित्व नगर्ने बताए। ती मन्त्रीहरूको टिप्पणीले भारतीय सामाजिक सञ्जालमा खैलाबैला मच्चाएको हो । सोमवार माल्दिभ्सका दिल्लीस्थित उच्चायुक्त इब्राहिम शाहिबलाई भारतीय विदेश मन्त्रालयबाट बाहिरिँदै गरेको देखिएको थियो।
माल्दिभ्सका लागि भारतीय उच्चायुक्त पनि मालेमा त्यहाँको विदेश मन्त्रालय गएका थिए। तर भारतीय उच्चायुक्तको कार्यालयले मुनु महावर एउटा पूर्वनिर्धारित बैठकका लागि गएको बताएको छ। गत वर्ष सत्तामा आएका मुइज्जूले गत वर्ष झन्डै ७५ भारतीय सैनिकलाई माल्दिभ्स छाड्न आग्रह गरेपछि भारत र उक्त टापुराष्ट्रबीच तनाव उत्पन्न भएको थियो। निलम्बित हुनेमा मल्शा शरीफ, मरियम शिउना र अब्दुल्ला महजूम मजिद छन् ।
उनीहरूलाई बर्खास्त गर्न माग गरिएको भए पनि माल्दिभ्सका सञ्चारमाध्यमहरूले ती मन्त्रीहरूलाई निलम्बन मात्र गरिएको जनाएका छन्। ती मन्त्रीहरूले मोदीले भारतको लक्षद्वीपका टापुहरूको पर्यटन प्रवर्धन गर्ने खालका तस्बिरसहित गरेको पोस्टमा त्यस्तो प्रतिक्रिया जनाएका थिए। शिउनाले भारतलाई गाईको गोबरसँग पनि तुलना गरिन्। केहीले माल्दिभ्समा बिदा मनाउन जाने आफ्नो योजना रद्द गर्ने घोषणा पनि गरे। गत वर्ष माल्दिभ्स जाने पर्यटकमध्ये सबैभन्दा ठूलो भाग भारतीयहरूको थियो।
भारतीय टिकट बुकिङ साइट ईजमाईट्रिपका प्रमुख कार्यकारी अधिकृतले उनको कम्पनीले माल्दिभ्सका लागि सबै बुकिङ अहिलेका लागि स्थगित गरिएको बताएका छन्। माल्दिभ्स सफा बालुवायुक्त समुद्री तट र रिसोर्ट एवं मुगाबाट बनेका टापुका लागि प्रसिद्ध छ। बलीवुड कलाकार अक्षय कुमार र केही क्रिकेटरसहित प्रख्यात भारतीयहरूले माल्दिभ्सका मन्त्रीले गरेका ती टिप्पणीप्रति दुःख व्यक्त गरेका छन्।