नेपालबाट पढ्न जाने विद्यार्थीसँगै ५ महिनामा विदेशियो ४७ अर्ब ३५ करोड

काठमाडौं । नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थीले ५ महिनामा ४७ अर्ब ३५ करोड रुपैयाँ विदेश पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८०–८१ को मंसिर मसान्तसम्म भ्रमण व्ययतर्फ ७५ अर्ब ७३ करोड रुपैयाँ विदेशिएको छ । यसमध्ये शिक्षाका लागि मात्र ४७ अर्ब ३५ करोड रुपैयाँ विदेशिएको हो । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा १८ अर्ब ५४ करोड बढी हो । गतवर्ष ५ महिनामा शिक्षामा २८ अर्ब ८१ करोड विदेशिएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार सेवा खाता अन्तर्गत भ्रमण व्यय ५९.५ प्रतिशतले बढेको छ । भ्रमण आय भने ४७.५ प्रतिशतले मात्र बढेको छ । जसका कारण खुद सेवा आय अझै पनि २६ अर्ब ९३ करोडले घाटामा रहेको देखिएको छ । अघिल्लो वर्षको यसै अवधिमा खुद सेवा आय ३० अर्ब ९६ करोडले घाटामा थियो । तथ्यांक अनुसार सेवा खाता अन्तर्गत भ्रमण आय ४७.५ प्रतिशतले बढेर ३३ अर्ब ९५ करोड रुपैयाँ कायम भएको छ ।