नेपालमा मूल्यवृद्धि ५ प्रतिशत भन्दा पनि तल झर्यो, सस्तियो भान्सा

काठमाडौं । नेपालमा उपभोक्ता मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा पनि तल झरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंसिरमा उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) ४.९५ प्रतिशतमा खुम्चिएको छ । गत वर्षको यहीं अवधिमा यस्तो मुद्रास्फीति ७.३८ प्रतिशत थियो । गत वर्षको तुलनामा यो वर्ष घ्यु, तेल, तरकारी, माछा मासु उपसमूहको वस्तुहरुको मूल्यमा कमी आएको, पेट्रोलियम पदार्थको मूल्यमा कमी आएको, फलफूल, मरमसला, चिनीजस्ता वस्तुको मूल्य घटेका कारण समग्र मूल्य वृद्धिदरमा कमी देखिएको नेपाल राष्ट्र बैंकको प्रतिवेदनमा औंल्याइएको छ ।

क्षेत्रगत रुपमा हेर्दा काठमाडौं उपत्यकाको मूल्यवृद्धिदर ५.४२, तराईको ४.२६, पहाडको ५.४२ र हिमालको ७.४६ प्रतिशत देखिएको छ । २०८० मंसिर महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति २.६३ प्रतिशत रहेको प्रतिवेदनमा जनाइएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ९.१५ प्रतिशत रहेको थियो। समीक्षा महिनामा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ०.६६ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।