दुई छिमेकी नेपालका असल र विश्वासिला मित्र हुन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र भएको बताएका छन् । चिनियाँ नयाँ वर्षको काठमाडौंमा उद्घाटन गर्दै उनले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा नेपाल र चीनबीचको सम्बन्ध प्रगाढ रहेको बताए । नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘यससम्बन्धमा हाम्रो प्रतिबद्धता स्पष्ट र दृढ छ । आन्तरिक तथा बाह्य मामिलामा आएको परिवर्तनबाट हाम्रो प्रतिबद्धतामा कुनै हालतमा प्रभावित हुँदैन ।’

आफ्नो चीन भ्रमणको बेला जारी भएको संयुक्त वक्तव्य स्मरण गर्दै प्रधानमन्त्रीले थपे, ‘ताइवान चीनकै अभिन्न अङ्ग हो । ‘ताइवान स्वतन्त्रता’का सम्बन्धमा नेपालको प्रष्ट दृष्टिकोण रहेको छ । मेरो चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा यसलाई प्रष्ट पारिएको छ । हामी फेरि भन्न चाहन्छौं, हामी ताइवान स्वतन्त्रताको विपक्षमा छौं ।’

चीनका विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने स्पष्ट पार्दै उनले दुई देशको सभ्यता नदी र हिमशृंखलाले मात्र जोडिएका नभइ यसमा हाम्रा साझा संस्कृति र जनस्तरको सम्बन्ध पनि प्रमुख रहेको बताए । प्रधानमन्त्रीले संस्कृतिक सम्बन्धको गतिलो उदाहरणका रुपमा चन्द्रमासमा आधारित पात्रो रहेको उल्लेख गरे ।