ब्रुनाईका राजकुमारको विवाहले विश्वभर पाएको चर्चा

AFP\BBC

काठमाडौं । एसियाकै सबैभन्दा योग्य वरको उपमा पाएका ब्रुनाईका राजकुमार अब्दुल मतीन विवाह बन्धनमा बाँधिएका छन् । उनको विवाहको चर्चा विश्वभर भइरहेको छ । सैन्य सेवामा गरेको काम र आकर्षक व्यक्तित्वका कारण उनी प्रशंसामा रहने गर्छन् । राजकुमारको विवाह एक सर्वसाधारण महिलासँग भएसँगै उनको चर्चा अझ चुलिएको हो । उनको वैवाहिक कार्यक्रम १० दिनसम्म चलेको छ । इन्टरनेटमा चर्चित राजकुमारले गत डिसेम्बरमा याङ मुलिआ अनिशा रोस्नासँग विवाह हुन लागेको खुलासा गरेका थिए।

उनकी दुलही ब्रुनाईका नेता सुल्तान हसनल बोकिआकी नातिनी हुन्। उनले फेसन र पर्यटनसम्बन्धी कम्पनी सञ्चालन गर्दै आएको बताइएको छ। स्तान नूरूल इमान दरबारमा भएको वैवाहिक कार्यक्रममा ३२ वर्षका राजकुमार औपचारिक पोसाकमा देखिएका छन्। उनकी २९ वर्षीय दुलहीले सेतो रङ्गको लामो पोसाक र गरगहना लगाएकी छिन्।

विवाहमा ५,००० जना निम्तालुहरू बोलाइएको जनाइएको छ। जसमा साउदी अरब र जोर्डनका राज परिवारका सदस्यहरू साथै इन्डोनेसियाका राष्ट्रपति जोको विडोडो र फिलिपिन्सका नेता फर्डिनान्ड मार्कोस जुनिअर पनि थिए। यो जोडी माथिल्लो भाग खुला रहेको रोल्स रोएसमा चढेर आफ्ना शुभेच्छुकहरूलाई हात हल्लाउँदै विवाहित दम्पतीको रूपमा आफ्नो पहिलो सार्वजनिक उपस्थिति देखाएको थियो।

उनीहरूको भव्य टोली राजधानी बन्दुर श्री बगावन हुँदै अघि बढेको थियो। विद्यालयकी एक जना शिक्षिका नोर्लिहा मोहम्मदले राज परिवारको यो दम्पतीलाई देख्ने मौका “जीवनमा एक पटक मात्रै पाइने” दुर्लभ अवसर भएको एएफपी समाचार संस्थासँग बताइन्। यो सानो तेलको धनी राष्ट्रका स्थानीय टेलिभिजन स्टेसनहरूले बुधवार वैवाहिक कार्यक्रमका केही झलकहरू प्रसारण गरेका थिए।


सबैभन्दा लामो समयसम्म शासन गर्ने विश्वकै एक मात्र सुल्तानका राजकुमार मतीन दशौँ सन्तान हुन्। ब्रुनाईका सुल्तान विश्वमै धनी शासकहरूमध्ये पनि एक हुन्। राजकुमार मतीनले ब्रुनाईको सिंहासनको उत्तराधिकारी दाबी गर्ने स्थिति छैन। तर इन्स्टाग्राममा दशौँ लाख फलोअर रहेका उनको व्यक्तित्व भने निकै उच्च भएको छ।

राजकुमारले शाही कार्यक्रमहरूमा सहभागिता जनाउँदाका, पोलो खेल्दाका हुन् वा सैन्य पोसाकमा देखिँदाका सम्पादित भिडिओ क्लिपहरू अनलाइनमा व्यापक भेटिन्छन्। जनवरी ७ मा सुरु भएको वैवाहिक कार्यक्रम आइतवार भव्य समारोहसँगै समापन भएको छ । इस्लाम परम्परा बुधवार विवाह भएपछि राजकुमार मतीनको विवाहले औपचारिक मान्यता पाएको थियो। उक्त कार्यक्रममा बिहे गर्ने पक्षबाट राजकुमार र उनका बुबा लगायत पुरुषहरू मात्रै उपस्थित थिए।

बुधवारका भिडिओहरूमा राजकुमार मतीन उनकी दुलही ल्याउन सुनको गुम्बज भएको मस्जिदमा जाँदै गर्दा राजधानीका सडकमा नागरिकहरू लाइन लागेको देखिन्छ। राजकुमार मतीनले परम्परागत सेतो पहिरन लगाएका छन् र शिरमा हीराको बुट्टा भएको गहना लगाएका छन्। इमामले आशीर्वाद दिइसकेपछि उनले झुकेर आफ्ना बुबाप्रति आदर देखाएका थिए।

BBC