युगाण्डामा बस्ने नेपाली समुदायसँग प्रधानमन्त्रीको अन्तर्क्रिया

माघ ४, कम्पाला। असंलग्न आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा भाग लिन बिहीबार बेलुकी युगाण्डाको कम्पाला पुगेका  प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले युगाण्डामा रहेका नेपाली समुदायसँग भेटघाट तथा अन्तर्क्रिया गरेका छन् ।

सो अवसरमा  प्रधानमन्त्री प्रचण्डले भने, “युगाण्डामा मेरो पहिलो भ्रमण हो। तपाईहरूसँग भेटेर कुराकानी गर्न पाउँदा खुसी लागेको छ। यहाँ तपाईहरूले केही कुरा उठाउनुभयो। ती महत्वपूर्ण छन्। हिजोमात्रै मैले गृह मन्त्रीजीसँग गरेको छलफलबाट  भिजिट भिसाका बारेमा केही महत्वपूर्ण निर्णय गरिएको छ। केही समयअघि आप्रवासन समस्या समाधानका निम्ति सबै राजदूतहरू बोलाएर कुरा गरिएको छ।”

उनले  भेटघाट तथा अन्तरक्रियाबाट आफुले विदेशमा रहेका नेपालीहरूका दुखकष्ट बुझ्ने अवसर पाएको भन्दै देशको विकास र समृद्धिका लागि महत्वपूर्ण भूमिका खेलिरहेका विदेशमा बस्ने नेपालीहरूको समस्या सम्बोधन नगरी देशले गति लिन नसक्ने बताए ।


कार्यक्रममा गैरआवासीय नेपाली संघ युगाण्डाका अध्यक्ष रमा अर्यालले आफ्नो देशको प्रधानमन्त्री लगायतका नेताहरू भेट्न पाउँदा अत्यन्तै खुसीका साथै अभिभावकत्व महसुस भएको बताइन ।
गैरआवासीय संघका युगाण्डाका संरक्षक रमेश कंडेलले युगाण्डामा ३५० जनाभन्दा बढी नेपाली रहेको जानकारी गराउए ।