सार्कलाई सक्रिय बनाउनेबारे नेपाल र श्रीलंकाका सरकार प्रमुखबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेबीच भेटावार्ता भएको छ । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) का सदस्य राष्ट्रहरूको १९ औँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पालामा रहेका प्रधानमन्त्री दाहाल र राष्ट्रपति विक्रमासिंघेबीच दुईपक्षीय प्रतिनिधिमण्डलको भेटवार्ता भएको हो । भेटवार्तामा प्रधानमन्त्री दाहालले असंलग्न परराष्ट्र नीतिका मामिलामा नेपाल र श्रीलंका एक ठाउँमा उभिएकाले क्षेत्रीय सहकार्य र हितका मामिलामा समेत दुवै देश एक ठाउँ उभिन आवश्यक रहेकोमा जोड दिएका थिए ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री दाहालले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई सक्रिय र गतिशील तुल्याउन आवश्यक रहेकोमा जोड दिँदै त्यसका निम्ति साझा भूमिका खेल्नुपर्ने बताएका थिए । उनले सार्कलाई गतिशील तुल्याएर क्षेत्रीय सहकार्य र साझा हितका विषयहरू सम्बोधन गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका थिए ।

भेटवार्तामा श्रीलंकाका राष्ट्रपति विक्रमासिंघेले सार्कलाई सक्रिय तुल्याउन आफूहरूको सहयोग रहने बताउँदै क्षेत्रीय हित र साझा आर्थिक क्रियाकलापमा नेपाल र श्रीलंकाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए । नेपाल र श्रीलंका सार्कका सदस्य राष्ट्र हुन् । भेटवार्तामा प्रधानमन्त्री दाहालसँगै नेपाली प्रतिनिधिमण्डलका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रूपक सापकोटा, परराष्ट्र सचिव सेवा लम्साललगायत परराष्ट्र मन्त्रालयका अधिकारीहरू उपस्थित थिए ।