यु-१९ विश्वकप : नेपाल र पाकिस्तान बीचको खेल आज

काठमाडौं । आईसीसी यू १९ विश्वकप अन्तर्गत आज नेपाल र पाकिस्तान भिड्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो १ ः ४५ बजे दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा सुरु हुँदैछ । नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । उता पाकिस्तानले अफगानिस्तानलाई १८१ रनले हराएको थियो ।

न्युजिल्यान्डले अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्सका पुगेको छ । पाकिस्तान आजको खेलमा विजयी भएका सुपर सिक्समा पुग्नेछ । नेपाल पाकिस्तातानलाई हराउँदै सुपर सिक्स पुग्ने सम्भावना बलियो बनाउने योजनामा छ । नेपालले आज हारेपनि अन्तिम खेलमा शुक्रबार अफगानिस्तानलाई हराएमात्रै पनि सुपर सिक्समा पुग्ने समीकरण छ।

आज नेपालको परीक्षा तीव्र गतिका बलरसँग हुन्छ । गत डिसेम्बरमा पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद जिशानले ६ विकेट लिएपछि नेपाल १५२ रनमै अल आउट भएको थियो । अग्ला कदका जिशानको बाउन्स र सट बलमा नेपाल फसेको थियो । उक्त खेलमा उबेद शाहले १ र अमिर हसनले २ विकेट लिएका थिए ।

दक्षिण अफ्रिका तीव्र गतिका सहयोगी पिचमा यी तीन बलरविरुद्ध खेल्न सहज हुनेछैन । जिशानको बलमा रन बनाउन निकै कठिन पर्न सक्छ । एक महिनाअघि मात्रै एसिया कप खेलेको हुँदा पाकिस्तानलाई नेपालको कमजोरी राम्रोसँग थाहा छ । त्यसैले सट र बाउन्सर बलको प्रयोग बढी हुनसक्छ ।

नेपालका अर्जुन कुमालले न्युजिल्यान्डविरुद्ध ९० रन बनाएका थिए । उनी नेपाली ब्याटिङका खम्बा हुन् । उनलाई सिनियर टोलीबाट खेलेका देल खनाल र गुलशन झाले पनि साथ दिन आवश्यक छ । देव र गुलशनबाट नेपालले ठूलो अपेक्षा गर्नेछ । उक्त एसिया कपमा उत्तम थापामगर ५१, अर्जुन कुमाल २१ र दीपेश कँडेलले ३१ रन बनाएका थिए । आकाश र उत्तमले पनि उक्त जिम्मेवारी लिनुपर्छ ।

नेपालले आजको खेलमा ओपनर दीपक बोहराको स्थानमा विपिन रावललाई मौका दिनसक्छ । त्यस्तै तीव्र गतिका बलर आकाश चन्दको स्थानमा बायाँ हाते बलर दुर्गेश गुप्ताले मौका पाउन सक्छन् । तल्लोक्रमका दीपक बोहराको स्थानमा विशाल विक्रम केसीलाई पनि मौका दिनसक्छ ।

नेपाल आजको खेलमा पनि तीन स्पिनरका साथ जाने देखिन्छ । सुवाश भण्डारी, दीपेश कँडेल र तिलक भण्डारी स्पिनर हुन् । दीपेश प्रमुख स्पिनर हुन् । सुवास र तिलकले न्युजिल्यान्डसँग बलिङसँगै ब्याटिङमा पनि राम्रो प्रभाव छाडेका थिए ।