यु-१९ विश्वकपको सुपर सिक्समा नेपाल, अफगानिस्थानविरुद्ध रोमाञ्चक जित

काठमाडौं । नेपाल यु-१९ विश्वकपको सुपर सिक्समा पुगेको छ । समूह चरणको निर्णायक खेलमा अफगानिस्तानविरुद्ध १ विकेटको रोमाञ्चक जित निकाल्दै नेपाल अर्को चरणमा प्रवेश गरेको हो । आजको खेलमा तीव्र गतिका बलर आकाश चन्द र कप्तान देव खनालले उत्कृष्ट प्रदर्शन गरे । नेपाल समूह डी बाट तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो ।

जितको लागि १४६ रनको मध्यम विजयी लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा कप्तान देव खनालले ८९ बलमा ७ चौकासहित सर्वाधिक ५८ रनको कप्तानी इनिङ खेले । अफगानिस्तानका फरिदुन दावुड्जाईले ४.४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । खलिल अहमद र नासिर खानले २–२ विकेट लिए । अरब गुल र घजान्फरले १–१ विकेट लिए ।

त्यसअघि दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान ४०.१ ओभरमा १४५ रनमा अल आउट भएको थियो । अफगानिस्तानका स्पिन अलराउन्डर मोहम्मद अल्लाह घजान्फरले २१ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ३७ रन बनाएका थिए ।


नेपालका आकाश चन्दले ८ ओभरमा ३४ रन खर्चेर ५ विकेट लिए । दीपेश कँडेलले ८ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए । गुल्शन झाले ८ ओभरमा १ मेडनसहित ४२ रन खर्चेर १ विकेट लिए । सुवास भण्डारीले ८.१ ओभरमा १ मेडनसहित १५ रन खर्चेर १ विकेट लिए । तिलक भण्डारीले ८ ओभरमा १ मेडनसहित २८ रन खर्चेर १ विकेट लिए ।

समूह ए मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन् । समूह ए बाट आउने शीर्ष तीन टोलीसँगै नेपाल, न्युजिल्यान्ड र पाकिस्तान एक सुपर सिक्समा हुनेछन् । नेपालले सुपर सिक्समा समूह एको शीर्ष र दोस्रो टोलीसँग खेल्नेछ ।