काठमाडौंमा अखाद्य खाना बेचे २ लाखसम्म कारवाही

काठमाडौं । काठमाडौं महानगरपालिकाले अखाद्य वस्तु ‘कटन क्यान्डी’ बेच्नेलाई कारबाही गर्ने भएको छ । काठमाडौं महानगरले शुक्रबार एक सूचना जारी गर्दै गुणस्तर नभएका खानेकुरा कटन क्यान्डीलगायत बेचबिखन गरेको पाइए ५ हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना गर्ने जनाएको हो । महानगरको सूचनामा छ, ‘बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा ३० ले दिएको अधिकार प्रयोग गरेर जरिवाना गराइने छ ।’

महानगरपालिकाले बालबालिकालाई लक्ष्य गरी खुला बेचिने कटन क्यान्डी (मिठाइ) वडा नम्बर ७ चाबहिल चोकबाट नमुना संकलन गरेर २९ पुसमा राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा परीक्षणका लागि पठाएको थियो । यसरी पठाइएको नमुनामा ‘रोडामिन बी’ नामक अखाद्य रङ मिसाइएको प्रतिवेदन प्राप्त भएपछि महानगरले अनुगमन गरेर कारबाहीको तयारी गरेको हो ।

महानगर बजार अनुगमन समिति संयोजक तथा उपमेयर सुनिता डंगोलले बालबालिकाका लागि खानेकुरा किन्दा गुणस्तर हेरेरमात्र किन्न आग्रह गरिन् । खानेकुरा किन्दा उत्पादन मिति, उपभोग्य मिति, अधिकतम मूल्य, खाद्य अनुज्ञा अनुमतिपत्र सम्बन्धी जानकारी भएको लेबल हेरेरमात्र खरिद गर्न महानगरपालिकाले उपभोक्तालाई आग्रह गरेको छ ।