काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिमै अघि बढाउनुपर्ने बताएका छन् ।
संघीय संसदको अधिवेशन सुरु हुनु अगाडि सोमबार बिहान सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक यही अधिवेशनबाट सहमतिमा पास हुने बताए ।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘सहमतिबाट टीआरसी विधेयक टुंग्याउँदा सबैको हितमा हुन्छ । सोही प्रक्रियामा जानुपर्छ ।’
टीआरसी विधेयक प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिमा दफाबार छलफलमा छ । ५ जेठ २०८० मा कानुन न्याय तथा मानवअधिकार समितिले यो विधेयकमा सहमति जुटाउन संसदीय उपसमिति गठन गरेको थियो । उक्त संसदीय उपसमितिले विधेयकका अधिकांश विषयमा सहमति जुटाएर प्रतिवेदन बुझाइसकेको छ ।
तर, प्रतिवेदनमा चार वटा विषयमा भने थप छलफलबाट टुंगोमा पुग्नुपर्ने भनेर राखिएको छ ।