काठमाडौं । आपतकालीन सेवा एकीकृत रुपमा प्रवाह गर्ने विषयमा अध्ययन गर्न गृह मन्त्रालयले एक कार्यदल गठन गरेको छ । एम्बुलेन्स, दमकल, प्रहरी र प्रारम्भिक स्वास्थ्य जस्ता सेवालाई एकीकृत रुपमा उपलब्ध गराउने विषयमा १५ दिनभित्र अवधारणापत्र र कार्ययोजना पेश गर्न विपद् व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरिएको हो ।
कार्यदलमा गृह, स्वास्थ्य, सञ्चार तथा सूचना प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरी बलका एक-एक जना र नेपाल प्रहरीका दुईजना प्रतिनिधि रहेका छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका सूचना तथा सञ्चार विज्ञ विजय गौतम पनि कार्यदल सदस्य छन् ।
अत्यावश्यक सहायता सेवाका लागि हाल नेपाल प्रहरीको १००, दमकलको १०१, एम्बुलेन्सको १०२ र ट्राफिक प्रहरीको १०३ नम्बरहरू प्रयोगमा छन् । यी सबै आकस्मिक सेवालाई एउटै प्रणालीबाट सञ्चालन गर्ने विषयमा कार्यदलले अध्ययन गरेर सुझाव दिने उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।