नेपालले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग-२ लगत्तै नेदरल्यान्ड्स र नामिबियासँग टी २० आई सिरिज खेल्ने भएको छ । सिरिजको तालिका सार्वजनिक भएको छ । नेपालले त्रिकोणात्मक सिरिजमा पहिलो खेल फागुन १५ (फेब्रुअरी २७) मा नामिबिया र दोस्रो खेल फागुन १६ (फेब्रुअरी २८) मा नेदरल्यान्ड्ससँग खेल्ने भएको छ ।

नेपालले फागुन १८ मा (मार्च १ ) नामिबिया र फागुन १९ (मार्च २) मा नेदरल्यान्ड्सँग खेल्नेछ । फाइनलमा पुग्ने दुई टोलीले फागुन २२ मा (मार्च ५) मा प्रतिस्पर्धा गर्नेछन् । सबै खेल त्रिवि क्रिकेट मैदानमा हुनेछन् । सबै खेल बिहान साढे ११ बजे सुरु हुनेछन् ।

नेपाली क्रिकेट टोली आगामी दुई महिना निकै ब्यस्त रहनेछ । नेपालले तीन खेलको ओडीआई सिरिज अन्तर्गत दोस्रो खेल शनिबार र तेस्रो खेल सोमबार खेल्नेछ । पहिलो खेलमा नेपाल बिहीबार ७ रनले विजयी भएको थियो । क्यानडापछि लिग २ को सिरिज हुनेछ । लिग २ फागुन ३ देखि १३ सम्म हुनेछ ।

नेपालले लिग २ मा फागुन ३ मा नामिबिया र फागुन ५ मा नेदरल्यान्ड्ससँग खेल्नेछ । फागुन ९ मा नामिबिया र फागुन १३ मा नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपाल टी २० आई त्रिकोणात्मक सिरिजपछि हङकङ जानेछ । हङकङ, नेपाल, ओमान र युएईबीच चार देश सम्मिलित टी २० आई सिरिज पनि हुनेछ ।