काठमाडौं । चालु आर्थिक वर्ष २०८०–८१ को सात महिनामा पौने २३ अर्ब रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत भएको सरकारले जनाएको छ । उद्योग विभागका अनुसार माघ मसान्तसम्म कुल २२ अर्ब ६८ करोड १५ लाख रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको हो ।
सरकारले यस वर्ष कुल ३८ अर्ब एफडीआई भित्रिने अनुमान गरेको छ । माघ मसान्तसम्म कुल २ सय ४१ वटा एफडीआई स्वीकृत भएको छ । जसको प्रतिबद्धता रकम झन्डै २३ अर्ब रहेको विभागले जनाएको छ । माघमा मात्र १५ वटा एफडीआई स्वीकृत गरिएको र यसको प्रतिबद्धता रकम ३४ करोड ५० लाख रुपैयाँ रहेको विभागको तथ्यांकमा छ ।
विभागका अनुसार अहिलेसम्म नेपालमा ६ हजार ९८ एफडीआई स्वीकृत भएका छन् । जसको प्रतिबद्धता रकम ४ खर्ब ७२ अर्ब ५८ करोड रुपैयाँ छ । यसरी दर्ता भएका प्रत्यक्ष वैदेशिक लगानीमध्ये यस वर्ष दर्ता भएका एफडीआईमा १२ हजार ६ सय ९२ जनाले रोजगारी पाउने छन् । माघमा दर्ता भएका एफडीआईले ५ सय २५ जनालाई रोजगारी दिनेछन् । अहिलेसम्म दर्ता भएको कुल एफडीआईले भने कुल ३ लाख २१ हजार ७ सय ५२ जनालाई रोजगारी दिने देखिएको छ । यस वर्ष आएको एफडीआईमध्ये तीनमात्र ठूलो उद्योगमा लगानी प्रतिबद्धता आएको छ ।
मध्यम खालका उद्योगमा १२ र साना उद्योगमा २ सय २६ वटा लगानी प्रतिबद्धता आएको छ । यसबाट आकर्षण साना उद्योगमा बढी देखिएको छ । माघमा दर्ता भएका सबै उद्योग साना लगानीका छन् । विभागको तथ्यांक अनुसार कुल एफडीआई स्वीकृतिको आधा पर्यटन उद्योगमा लगानी गर्ने योजनासहित आएको छ ।
यस वर्ष १ सय ८ एफडीआई पर्यटनमा केन्द्रित छ । जुन ४५ प्रतिशत हुन आउँछ । सेवा क्षेत्रमा ३६ प्रतिशत एफडीआई आउने देखिएको छ । यसमा ८६ वटा एफडीआई स्वीकृत भएको छ । उत्पादनमा २८ वटा लगानी स्वीकृत भएको छ । जुन ११ प्रतिशत हिस्सा हो ।
सूचना प्रविधिमा आठ, कृषिमा चार र पूर्वाधारमा पाँच वटा लगानी स्वीकृत भएको विभागले जनाएको छ । यस वर्ष सात महिनामा ‘बिजनेस भिसा’ लिएर नेपाल आउनेको संख्या २ हजार १ज सय ९२ छ । गत वर्ष यो संख्या १ हजार ५ सय १६ थियो । यो वर्ष रोयल्टीबाट मात्र १ अर्ब ३७ करोड ३९ लाख रुपैयाँ संकलन भएको विभागले जनाएको छ ।