विश्वकप २०२७ का लागि नेपालको यात्रा आजबाट सुरु, विश्वकप लिग-२ को पहिलो खेल नामिबियासँग खेल्दै

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप २०२७ को छनोटका लागि आजबाट यात्रा सुरु गर्दैछ । सो अन्तर्गत लिग२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा आज नामिबिया र नेपाल भिड्दैछन् । खेल बिहान ९ ः ३० मा टीयु क्रिकेट मैदानमा सुरु हुने भएको छ । २०२७ सम्म चल्ने लिग २ मा नेपालसहित ८ टोली सहभागिता हुनेछन् । पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्यड्सबीच प्रतिस्पर्धा हुनेछ ।

पछिल्लो एक वर्षमा नेपालले घरेलु मैदान टीयुमा ओडीआई खेल हारेको छैन । नेपालको कप्तानी रोहित पौडेल र नामिबियाको जेराल्ड इरास्मसले गर्नेछन् । नेपालले यसै साता क्यानडासँग तीन ओडीआई खेलको सिरिज खेल्दै क्लिन स्विप गरेको थियो । नेपालले दोस्रो खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । त्यसपछि बुधबार नामिबिया र आइतबार नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपाल र नामिबियाबीच ६ ओडीआई खेल भएका छन् । जसमा नेपाल २ खेलमा जित, ३ मा हार र एक खेल वर्षाको कारण नतिजा विहीन बनेको थियो ।