काठमाडौं । नेपाल ए ले क्यानडा ११ सँग एकदिवसीय अभ्यास खेलअन्तर्गत आज दोस्रो खेल खेल्दै छ । खेल बिहान साढे ९ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । तीन खेलको सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ए ४ विकेटले पराजित भएको थियो । नेपालले आज पहिलो खेलमा मौका नपाएका खेलाडीहरुलाई मौका दिनसक्छ ।
स्पिनर शेर मल्ल, बायाँ हाते ब्याटर सुजन थपलिया, तीव्र गतिका बलर हेमन्त धामी र रिजन ढकाल पहिलो खेलमा बेन्चमा थिए । हेमन्त र रिजनले क्यानडासँग ओडीआई खेल खेलेका थिए । स्पिनर शेर र ब्याटर सुजन आज रोजाइमा पर्न सक्छन् । पूर्ण रुपमा फिट नहुँदा आशुतोष घिरैया पहिलो खेला टोलीमा थिएनन् । उनी फिट हुँदा मौका पाउने सम्भावना रहन्छ । कप्तान विनोद भण्डारी, सन्दीप जोरा र विवेक यादव प्रमुख खेलाडी हुन् । अर्जुन कुमाल र प्रतिश जिसीबाट अझ आशा राख्नेछ ।
मुलपानी पिच स्पिनर सहयोगी हुँदा साहब आलम र सागर ढकालको जोडी पुनः हाबी बन्न सक्छन् । पहिलो खेलमा अर्धशतक प्रहार गरेका बसिर अहमद राम्रो लयमा छन् । तेस्रो तथा अन्तिम अभ्यास खेल बिहीबार हुनेछ । त्यसपछि क्यानडा युएई जानेछ । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज यूएईअघि क्यानडाले नेपालमा आएर तयारी गरेको हो । नेपालको सिनियर टोलीसँग तीन खेलको ओडीआई सिरिज समेत खेलेको थियो ।