आईसीसी विश्वकप लिग–२ : नेपाल र नामिविया दोस्रो खेलमा भिड्दै

काठमाडौं । नेपालले सन् २०२४ को आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेल र नामिवियासँग दोस्रो खेल खेल्दैछ । खेल बिहान ९ ः ३० मा त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल यसअघि ३ फागुनमा भएको पहिलो खेलमा नामिवियासँग ४ विकेटले स्तब्ध भएको थियो । टस हारेर पहिला ब्याटिङको गरेको नेपाल १३२ रनमै अल आउट भएको थियो ।

तर दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले हराउँदै नेपालले शानदार पुनरागमन गरेको छ । नेदरल्यान्ड्सलाई १३७ रनमा अल आउट गर्दै उक्त लक्ष्य नेपालले १५.२ ओभरमा पूरा गरेको हो । नामिविया नेपाललाई लगातार दोस्रो खेलमा स्तब्ध पार्ने सोचमा छ । त्रिवि मैदानमा नै सोमबार भएको खेलमा नामिविया नेदरल्यान्ड्ससँग १२३ रनमा अल आउट हुँदै ७ विकेटले पराजित भएको थियो ।


सुरुवाती तीन खेलमा टस हारेर पहिला ब्याटिङ गर्ने टोली नै पराजित भएका छन् । पहिला ब्याटिङ गर्ने तीन टोली १४० रन भन्दा कम रनमा अल आउट भएका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाल र नामिवियाबीच ७ खेल भएका छन् । नेपाल २ खेलमा विजयी, ४ खेलमा पराजित र १ खेल नतिजा विहीन छ । त्रिविमा भने तीनमध्ये दुई खेलमा नेपाल विजयी भएको छ ।