भारतीय युवा पनि रुसी सेनामा भर्ती भएको पुष्टी

काठमाडौं । भारतीय युवाहरु समेत रुसी सेनामा भर्ती भएको पुष्टी भएको छ । लाखौँ रुपैयाँ कमाउने आशामा भारतबाट रुस पुगेका युवा समस्यामा परेपछि यो जानकारी सार्वजनिक भएको बीबीसीले जनाएको छ । कामको प्रलोभनमा आफूलाई एजेन्टहरूले रुस बोलाएर सेनामा भर्ती गराएको केही युवाको दाबी छ। एजेन्टहरूले सेनामा नभई हेल्पर र सुरक्षागार्डको जागिर दिने भनेर आफूहरूलाई रुस पुर्‍याएको उनीहरूले बताएका छन्। पछिल्लो समय भारतको कर्नाटक, गुजरात, महाराष्ट्र, जम्मू तथा कश्मीर र तेलङ्गानाबाट १६ जना रुस पुगेका छन्। उनीहरूलाई रुस पुर्‍याउने केही एजेन्टहरू भारत, यूएई र रुसमा रहेर काम गरिरहेको दाबी गरिएको छ।

हेल्परको काम दिने आश्वासनमा रुस पुर्‍याइएका उनीहरूलाई केही दिनको लागि तालिमलगत्तै सन् २०२३ को डिसेम्बरबाट रुसी सेनामा भर्ती गरिएको परिवारका सदस्यहरूले बताएका छन्। रुसी सेनामा भारतीय युवाहरूलाई पुर्‍याउन यूएईमा बसेर काम गरिरहेको आरोप लागेका बाबा भ्लग चलाउने फैसल खानसँग बीबीसीले कुरा गरेको छ। उनले आफूले रुसी सेनाको सहयोगीको जागिर भन्ने जानकारी दिएरै युवाहरूलाई रुस पठाएको दाबी गरेका छन्। ूमैले जागिर खोज्ने उम्मेदवारहरूलाई यो सेनामै हेल्परको जागिर हो भनेको थिएँ,” उनले भने। रुस पुगेका भारतीय युवाले लामो समयसम्म आफ्नो परिवारसँग सम्पर्क गर्न नसकेपछि यो कुरा बाहिर आएको थियो।

पछिल्लो समय उनीहरूका केही भिडिओहरू पनि बाहिर आएका छन् जसमा उनीहरू हताश भएर सहयोग मागिरहेको देखिएको छ। भाइरल भएकामध्ये एउटा भिडिओमा तेलङ्गानाका दुई जनाले आफूहरूलाई झुक्क्याइएको दाबी गरेका छन्। हामीलाई सुरक्षा हेल्परको काम भनिएको थियो तर रुसी सेनामा भर्ती गरियो। रुसी अधिकारीहरूले युद्धको अग्रमोर्चामा ल्याए। हामीलाई युद्ध क्षेत्रको एउटा जङ्गलमा तैनाथ गरिएको छ। बाबा भ्लगका एजेन्टले हामीलाई धोका दिए, उनीहरूले भनेका छन्।