रुस-युक्रेन युद्धमा ३१ हजार युक्रेनी सैनिकको मृत्यु

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्धमा हालसम्म आफ्नो देशका ३१,००० सैनिकको ज्यान गइसकेको पुष्टी गरेका छन् । उनले रुसलाई सैन्य योजना बनाउन सहयोग पुग्न सक्ने भनी घाइतेहरूको सङ्ख्या भने सार्वजनिक गरेनन्। सामान्यतया युक्रेनले मृत्युको सङ्ख्या सार्वजनिक गर्दैन र अन्य स्रोतहरूले हाल बताइएको भन्दा धेरै जनाले ज्यान गुमाइसकेको अनुमान गरेका छन्।

अमेरिकी अधिकारीहरूले गत अगस्टमा ७०,००० सैनिक मारिएको र १,२०,००० मानिस घाइते भएको तथ्याङ्क अगाडि सारेका थिए। तर युक्रेनी रक्षामन्त्रीले हालै पश्चिमा शक्तिले प्रतिबद्धता गरेको सहायताको आधा परिमाण प्राप्त हुन ढिला भइरहेकाले आफ्नो देशले जनधन र भूभाग गुमाउनु परिरहेको बताएसँगै यो तथ्याङ्क सार्वजनिक गरिएको छ।

जेलेन्स्कीले रुसले युक्रेनले भोगेको मानवीय क्षतिको अतिरञ्‍जित तथ्याङ्क फैलाएकोले आफूले अद्यावधिक जानकारी दिएको बताए। यस युद्धमा ३१,००० युक्रेनी सैनिकहरूको मृत्यु भएको छ, ३,००,००० वा १,५०,००० वा पुटिन र उनका सहयोगीहरूले बताउँदै आएजस्तो अन्य कुनै मिथ्या सङ्ख्या होइन। तर मारिएको हरेक व्यक्ति हाम्रो लागि ठूलो क्षति हो। तर उनले रुसले कब्जा गरेको क्षेत्रहरूमा हजारौँ सर्वसाधारणको मृत्यु भइसकेको र ठ्याक्कै सङ्ख्या थाहा हुन नसकेको पनि बताए।

उनले भने, ‘मलाई थाहा छैन कति मरे, कतिलाई मारियो, कतिलाई यातना दिइयो, कतिलाई निकाला गरियो।’ फेब्रुअरीमा ब्रिटेनको रक्षा मन्त्रालयले युक्रेनसँगको युद्धमा ३,५०,००० रुसी सैनिकहरू मरिसकेको वा घाइते भएको बताएको थियो। राष्ट्रपति जेलेन्स्कीले यो सबै जानकारी उनका रक्षामन्त्री रुसटम उमेरभले पश्चिमा मित्रराष्ट्रहरूले सैन्य सहायता प्रदान गर्न ढिलाइ गरेको भनी असन्तुष्टि पोखेपछि प्रस्तुत गरेका हुन्।