रास्वपाले तीन प्रदेशका महामन्त्रीलाई किन हटायो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीन प्रदेशमा महामन्त्री हटाएको छ। त्यस्तै कोशी प्रदेशका महामन्त्री लालविक्रम थापा निलम्बनमा परेका छन्।
बागमती प्रदेशकी महामन्त्री जिता बरालले कार्य(व्यस्ततालाई कारण देखाउँदै महामन्त्रीको भूमिकाबाट बहिर्गमित भएको पार्टी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। बराल २०७९ मंसिरको प्रतिनिधि सभा निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार थिइन्। सुदूरपश्चिमका महामन्त्री भोजराज जोशीले पनि आफैं बिदा लिएको बुर्लाकोटीले जानकारी दिए। जोशी केन्द्रीय विधेयक मन्थन विभागका सदस्यसमेत छन्।


कोशी प्रदेशका महामन्त्री लालविक्रम थापाले इटहरी उपमहानगरपालिका वडा नम्बर ९ स्थित जनता माध्यमिक विद्यालयको नाममा रहेको जग्गा भोगचलन गरेर भाडा नतिरेको विषय बाहिर आएकाले निलम्बन गरिएको बुर्लाकोटीले बताए। थापा २०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारसमेत थिए।

गण्डकी प्रदेशका महामन्त्री अशोक खड्का भने कार्यसम्पादन मूल्यांकनमा कमजोर ठहरिएको बुर्लाकोटीले बताए। रास्वपाले कर्णाली प्रदेशको कमिटी नै विघटन गर्ने निर्णय गरेको छ। गत फागुन ६ गते बसेको सचिवालय बैठकले कर्णालीको प्रदेश कमिटी विघटन गरेर तीन महिने विशेष अभियान चलाउने निर्णय गरेको थियो। त्यहाँको प्रदेशदेखि जिल्ला हुँदै वडा तहको सम्पूर्ण संरचना विघटन गरिएको सहमहामन्त्री बुर्लाकोटीले जानकारी दिए।