काठमाडौं । विराटनगर महानगरपालिका भित्र अब रातको १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न पाइने भएको छ । यसअघि १० बजेपछि नै बन्द गर्नुपर्ने बाध्यता थियो । सरोकारवालाको बैठकले अब १२ बजेसम्म होटल व्यवसाय चलाउन पाइने गरी समय तोकेको छ । विराटनगर महानगरपालिकाको समन्वयमा बुधबार बसेको सरोकारवालाको बैठकले विराटनगरको आर्थिक गतिविधि चलायमान बनाउन राति १२ बजेसम्म होटल र १० बजेसम्म अन्य व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
व्यवसायीले रात्रिकालीन व्यवसाय सञ्चालनका लागि पटक(पटक महानगरलाई आग्रह गर्दै आएका थिए । व्यवसायीको गुनासो सम्बोधन गर्न महानगरले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी प्रदेश, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार संघ, होटल व्यवसायी संघ, उपभोक्तासँग सम्बन्धित संस्थासहित सरोकारवालाको बैठक राखेको थियो ।
बैठकले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने सुरक्षासहितका अन्य मापदण्ड तय गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिले होटल र अन्य व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने सुरक्षालगायतका मापदण्ड समेटेर कार्यविधि बनाउनेछ ।