काठमाडौं । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) क्रिकेटरको वर्गिकरण गरी सार्वजनिक गरेको छ । कप्तान रोहित शर्मा, विराट कोहली, जसप्रित बुमराह र रविन्द्र जडेजा ए प्लस श्रेणीमा पर्न सफल भएका छन् । बोर्डले नयाँ वार्षिक केन्द्रीय सम्झौता सार्वजनिक गर्दै चार खेलाडी उच्च स्थानमा रहेको बताएको हो । उनीहरु अघिल्लो वर्ष पनि ए प्लसमै थिए। नयाँ केन्द्रीय सम्झौतामा चार श्रेणीमा कुल ३० खेलाडी रहेका छन् । गत वर्षभन्दा चार खेलाडी थप भए ।
तर श्रेयस अय्यर र इशान किशन यो सूचीमा अटाएका छैनन् । गत नोभेम्बरमा भारतलाई विश्वकपको फाइनलमा पुर्याउने प्रमुख खेलाडी मध्येका एक रहेका अय्यरले बोर्डले तोकेको न्यूनतम मापदण्ड पूरा गरे पनि आफ्नो ग्रेड बी सम्झौता गुमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
नयाँ सम्झौता अक्टोबरदेखि सुरु भएकोमा अय्यरले गत वर्ष चार टेस्ट, १२ एकदिवसीय र दुई टी-२० खेलेका थिए। किशनसँग गत वर्ष ग्रेड सी सम्झौता भएको थियो। पछिल्लो सम्झौता अवधिमा उनले दुई टेस्ट, १९ एकदिवसीय र १० टी–२० खेलेका थिए।
ए प्लसमा रहने खेलाडीको वार्षिक पारिश्रमिक ७ करोड भारू (११.२० करोड नेपाली रूपैयाँ) हुन्छ । जसमा रोहित शर्मा, विराट कोहली, जसप्रीत बुमराह र रवीन्द्र जडेजा छन् । ग्रेड एमा रहने खेलाडीको तलव वार्षिक ५ करोड भारू (८ करोड नेपाली रुपैयाँ) हुन्छ । जसमा रविचन्द्रन अश्विन, शुभमन गिल, मोहम्मद शमी, हार्दिक पाण्ड्या, मोहम्मद सिराज र केएल राहुल रहेका छन् ।
ग्रेड बीमा रहने खेलाडीको तलव ३ करोड भारू (४.८० करोड नेपाली रुपैयाँ) हुन्छ । जससमा सूर्यकुमार यादव, यशस्वी जैसवाल, ऋषभ पन्त, कुलदीप यादव र अक्षर पटेल रहेका छन् । ग्रेड सीमा रहेका खेलाडीले १ करोड भारू (१.६० करोड नेपाली रुपैयाँ) पाउँछन् । जसमा रिन्कू सिंह, तिलक बर्मा, शिवम दुबे, रवि बिश्नोई, मुकेश कुमार, सन्जु सामसन, प्रसिद्ध कृष्णा, आवेश खान, रुतुराज गायकवाड, जितेश शर्मा, अर्शदीप सिंह, रजत पाटीदार, शार्दुल ठाकुर, वाशिन्टन सुन्दर र
केएस भरत रहेका छन् ।