काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले आफ्नो तेस्रो खेलमा आज नामिबियाको सामना गर्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । नामिबियाले पहिलो खेलमा नेपाललाई २० रनले हराएको थियो । नामिबियाले दिएको २०७ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८६ रनमा अल आउट भएको थियो । नेपाल शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना कायमै राख्न आजको खेलमा जित आवश्यक छ ।
आजको खेलमा पराजित भएमा नेपाल औपचारिक रुपमै फाइनल दौडबाट बाहिरिनेछ । नेदरल्यान्ड्सले नेपाललाई २ रन र नामिबियालाई ५९ रनले हराउँदै शीर्षस्थानमा छ । नेपाललाई पहिलो खेलमा हराउन नामिबियाका जान निकोल लोफ्टी एटनले ३६ बलमा ८ छक्का र ११ चौकासहित १०१ रनको शतकीय इनिङ खेलेका थिए ।
बिहीबार माइकल लेभिटले १३५ रनको सानदार शतकीय इनिङ खेलेपछि नेदरल्यान्ड्सले नामिवियाविरुद्ध २४७ रन बनाएको थियो । रुबेन ट्रम्पलम्यान नामिवियाका प्रमुख बलर हुन् । पावर प्लेमा उनको बलमा बच्न सके नेपालले राम्रो योगफल बनाउन सक्छ । नेपालले पछिल्लो खेलबाट टोलीमा एक परिवर्तन गर्नसक्छ । ब्याटिङ बलियो बनाउन अनिल शाहलाई मौका दिंदा सन्दीप जोरालाई बाहिर गर्न सक्छ । जोरा नामिबियासँग ५ र नेदरल्यान्ड्ससँग ८ रनमा आउट भएका थिए ।
कुशल भुर्तेल दुवै खेलमा शून्यमा आउट भएका छन् । आज पनि उनलाई मौका दिने देखिन्छ । उनीबाट आज नेपाल ठूलो इनिङ चाहन्छ । दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् । नेदरल्यान्ड्सविरुद्ध खेलेको ३४ बलमा ६३ रनको इनिङले मनोबल झनै बढ्नेछ । नेपाल दुवै खेलमा फिनिसिङमा कमजोर देखिएको छ ।