अमेरिकी चन्द्रयानले आफ्नो खुट्टा भाच्चिएको आफ्नै तस्वीर पठायो

bbc

काठमाडौं । अमेरिकी कम्पनी इन्टूइटिभ मशीन्सले आफूले चन्द्रमामा पठाएको ओडिसिअस रोबट सतहमा बसेको देखिने स्पष्ट तस्बिर सार्वजनिक गरेको छ।
ती तस्बिरमा उक्त अमेरिकी अन्तरिक्षयान एक ठाउँमा बसेको देखिन्छ। अवतरणका क्रममा ल्यान्डरको एउटा खुट्टा भाँच्चिएको थियो। यद्यपि ओडिसिअसले योजनानुरूप काम गर्न सक्यो र चन्द्रमाको वातावरणसँग सम्बन्धित डेटा पृथ्वीमा पठायो।

ओडिसिअस निजी कम्पनीद्वारा निर्मित चन्द्रमामा सकुशल अवतरण गर्ने पहिलो अन्तरिक्षयान हो। गत बिहीवार चन्द्रमामा पुगेपछि त्यसलाई अमेरिकाले ठूलो उपलब्धि मानेको छ। अमेरिकी अन्तरिक्ष निकाय नासाका प्रमुख बिल नेल्सनले चन्द्रमाको सतहमा अप्ठ्यारो गरी बसेको भए पनि उक्त रोबटको प्रशंसा गर्नुपर्ने बताएका छन्। नासाले ह्यूस्टनस्थित इन्टूइटिभ मशीन्सलाई पैसा तिरेर उक्त ल्यान्डरमा छवटा वैज्ञानिक उपकरण पठाएको छ। चन्द्रमामा ओर्लिँदा ओडिसिअसले केही अप्ठ्यारो खेप्नुपरेको थियो।

उक्त रोबट एक मिटर प्रतिसेकन्डको गतिमा सीधा तल ओर्लिनुपर्ने थियो। तर ल्यान्डरमा भएको कम्प्युटरले लेजरको रेन्ज खोज्ने डेटासम्बन्धी चाँडो काम गर्न नसक्दा उचाइ र गतिसँग सम्बन्धित सूचना सङ्कलन गर्न अप्टिकल क्यामरामा मात्र भर पर्नुपरेको थियो। अर्थात् यो यान तीन गुना तीव्र गतिमा ओर्लियो। त्यसो हुँदा त्यो छेउछाउमा पनि हल्लियो र अन्ततः सतहमा चिप्लियो। सम्भवतः त्यसैले खुट्टा भाँचियो र ल्यान्डर ढल्कियो।

अहिले ल्यान्डर सतहसँग झन्डै ३० डिग्रीको कोण बनाएर आफ्नो एउटा हीलिअम प्रेसर ट्याङ्कमा अडिएर बसेको छ। आफूले पठाएका छवटा उपकरणबाट नयाँ न्याभिगेशन प्रविधिहरूको परीक्षण गर्न तथा अवतरणस्थलमा चन्द्रमाको सतहको अवस्था अध्ययन गर्ने नासाको उद्देश्य थियो। ती सबै परीक्षण र प्रयोगको निरीक्षण गरेकी सुजन लेडररका अनुसार नासाका वैज्ञानिकहरू र इन्टूइटिभ मशीन्सका कर्मचारीले सहकार्य गरेर यो अभियानलाई सफल बनाएका हुन्।