काठमाडौं । महाशिवरात्रि पर्व व्यवस्थित रूपमा सम्पन्न गर्न पशुपति क्षेत्र विकास कोषले सात उपसमिति गठन गरी काम अन्तिम चरणमा पुर्याएको छ । कोषले महाशिवरात्रिका लागि गठित उपसमितिले सुरक्षा व्यवस्था, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर, वातावरण तथा सरसफाइ, जुत्ताचप्पल व्यवस्थापन, चन्दन वितरण, मन्दिर प्राङ्गण तथा पूजा, आवास, भोजन तथा भौतिक पूर्वाधार, दर्शन मार्ग, पार्किङ तथा ट्राफिक व्यवस्थापन, साधुसन्तको सेवा एवम् धार्मिक कार्यक्रम, सजावट तथा मेला बजारलाई निर्बाधरूपमा सञ्चालन गर्ने जनाएको हो ।
यसैगरी महाशिवरात्रिका दिन राति २ बजेदेखि पशुपतिनाथ मन्दिरको चार वटै ढोका खोली भक्तजनलाई सहज दर्शन गराइने कोषका सदस्य सचिव राजुकुमार खत्रीले बताए । उनले यस वर्षको महाशिरात्रिमा कम्तीमा २० लाख जना भक्तजनले पशुपतिको दर्शन गर्ने अनुमान गरिएको जानकारी दिए ।
पशुपति क्षेत्रमा गाँजा, भाङ, जाँड–रक्सी तथा मासु पूर्णरूपमा निषेध गरिएको छ । महाशिवरात्रिका दिन पशुपति पुग्ने भक्तजनका लागि एम्बुलेन्स सेवा, झन्डै छ सय जना सवयंसेवक, ७० वटा स्वास्थ्य शिविर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारी परिचालन हुनेछन् ।