ब्रिटिश प्रधानमन्त्रीकी सासु भारतमा बनिन् सांसद

getty images

काठमाडौं । ब्रिटिश प्रधानमन्त्री ऋषि सुनककी सासूलाई भारतीय संसद्को माथिल्लो सदनकी सदस्यका रूपमा मनोनयन गरिएको छ। त्रिहत्तर वर्षीया सुधा मूर्तिले प्रविधि कम्पनी इन्फोसिसका सह-संस्थापक तथा अर्बपति एनआर नारायण मूर्तिसँग बिहे गरेकी थिइन्। उनकी छोरी अक्षताले सुनकसँग सन् २००९ मा बिहे गरेकी हुन्। सुनक सन् २०२२ देखि ब्रिटेनका प्रधानमन्त्री छन्। भारतीय संसद्‌को माथिल्लो सदन राज्यसभामा अधिकांश सदस्यहरू निर्वाचित हुन्छन्।

यद्यपि उक्त सदनमा समाजका गन्यमान्य व्यक्तिमध्येबाट १२ जना सदस्यलाई राष्ट्रपतिले ६ वर्षका लागि मनोनयन गर्ने व्यवस्था पनि छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मूर्तिको मनोनयनलाई ‘नारी शक्ति’को उदाहरण भएको जनाएका छन्। मोदीले यसले भारतको लक्ष्य निर्धारणका निम्ति महिलाको शक्ति र क्षमताको उदाहरण प्रस्तुत गर्ने पनि उल्लेख गरेका छन्।

मोदीले सामाजिक सञ्जाल एक्समा लेख्दै मूर्तिको ‘सामाजिक कार्य, परोपकार र शिक्षा लगायतका विविध क्षेत्रमा व्यापक र प्रेरणादायी योगदान रहेको’ जनाएका छन्। गत वर्ष उनको समाजसेवालाई कदर गर्दै सरकारले भारतको तेस्रो सर्वोच्च नागरिक सम्मान पद्मभूषण पनि प्रदान गरेको थियो। इन्जिनियरिङ अध्ययन गरेकी मूर्तिले मोदीलाई धन्यवाद दिँदै देशको सेवा गर्ने अवसरको लागि कृतज्ञ भएको बताएकी छन्।

उनले द हिन्दू पत्रिकासँग भनेकी छन्, मनोनयनमा मेरो नाम एउटा सुखद आश्चर्यका रूपमा आएको छ र अन्तर्राष्ट्रिय महिला दिवसका दिन यस्तो सम्मान पाउँदा म दोबर उत्साहित भएकी छु। संसदीय कार्यकालका लागि मैले योजनाहरू बनाउन बाँकी छ। म यो मञ्चलाई भारतका जनताका निम्ति काम गर्न उपयोग गर्नेछु।

फोर्ब्स पत्रिकाका अनुसार मूर्तिका पतिको अनुमानित कुल सम्पत्ति ४ अर्ब ७० करोड अमेरिकी डलर बराबर छ। नारायण मूर्तिले एक पटक आफ्नो कम्पनी सुरु गर्न आफ्नी पत्नीबाट २५० डलर सापटी लिएको बताएका थिए। यो कम्पनी अहिले भारतको सातौँ ठूलो र न्यूयोर्क स्टक एक्सचेन्जमा सूचीमा परेको पहिलो भारतीय कम्पनीका रूपमा रहेको छ। सुधा मूर्ति भारतीय टीभीहरूमा हुने छलफलहरूमा देखा परिरहने हुनाले उनी भारतमा परिचित व्यक्ति हुन्।

त्यस्तै एउटा छलफलमा उनले आफूले यूकेका अद्यागमन अधिकारीहरूसँग आफू डाउनिङ स्ट्रिटमा बस्न जाने बताएको उल्लेख गरिन्। उनको त्यो भनाइ सुनेर ती अधिकृतहरूले उनले ठट्टा गरिरहेकी होलिन् भन्ने ठानेका थिए। उनले आफूले आफ्नो श्रीमान्‌लाई व्यवसायी बनाउन सफल भएको उल्लेख गर्दै ,मेरी छोरीले पनि आफ्नो पतिलाई ब्रिटिश प्रधानमन्त्री बनाएकी छन्, भनेकी थिइन्।
बीबीसीको सहयोगमा