ब्राजिलका फूटबल स्टार रोबिन्होमाथि बलात्कार अभियोग पुष्टी, ९ वर्षको जेल सजाय

काठमाडौं । ब्राजिलका पूर्व फुटबल स्टार रोबिन्होलाई बलात्कार अभियोग पुष्टी भएको छ । स्थानीय अदालतले उनलाई ९ वर्षको जेल सजाय सुनाएको सञ्चारमाध्यमले जनाएका छन् । सन् २०१३ मा २२ वर्षीया अल्बानियाई महिलालाई इटलीमा सामूहिक बलात्कार गरेको अभियोगमा उनलाई अदालतले दोषी ठहर गरेको हो ।

यसअघि सन् २०१७ मा इटलीको अदालतले पनि उनलाई दोषी ठहर गर्दै ९ वर्षकै जेल सजायँ सुनाएको थियो । त्यतिबेला उनी एसी मिलानका लागि खेल्दथे । इटलीको अदालतले सजायँ सुनाउनु अघि नै उनी ब्राजिल फर्किसकेका थिए । त्यसपछि इटलीले ब्राजिललाई रोबिन्होविरुद्ध एक्सन लिन भनेको थियो ।

स्काई न्यूजको रिपोर्ट अनुसार इटलीको अनुरोधपछि ब्राजिलको एक अदालतले उनीमाथि ९ वर्षको जेल सजायँ सुनाएको हो । उनले ब्राजिलमै जेल सजायँ काट्नुपर्ने फैसला अदालतले गरेको स्काई न्यूजमा उल्लेख छ । रोबिन्होलाई जेल सजायँ हुने कि नहुने भन्ने विषयमा ब्राजिलको सुपेरियर कोर्ट अफ जस्टिसका न्यायाधीशबीच मत विभाजन गरिएको थियो । कूल १० भोटमध्ये जेल सजायँ हुनुपर्छ भन्ने पक्षमा ८ भोट र विपक्षमा २ भोट परेको थियो ।

रोबिन्होका वकिल जोस एडुआर्डो एल्कमिनले यो फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्ने बताएका छन् । रोबिन्होले ब्राजिलबाट १०० पटक खेल खेलेका छन् । उनी चार वर्षसम्म रियल मड्रिडमा रहँदा रियलले दुई पटक ला लिगा च्याम्पियनसिपको उपाधि जितेको थियो । त्यसपछि सन् २००८ मा ३२.५ मिलियन युरोमा उनी म्यानचेस्टर सिटीमा गएका थिए ।