काठमाडौं । नेपाल र भारतबीच विद्युत् आयात सम्झौता नवीकरण भएको छ । एक वर्षका लागि हुनुपर्ने सम्झौता २०८१ असार दोस्रो सातासम्मका लागि मात्र भएको हो । सम्झौता अनुसार भारतको एक्सचेन्ज मार्केटबाट आगामी तीन महिनासम्म ५ सय ५४ मेगावाट विद्युत् आयात गर्न पाइने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । त्यसमध्ये ५ सय मेगावाट ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन र ५४ मेगावाट टनकपुरबाट आयात गरिने भएको छ ।
अहिले नेपालले भारतबाट ६ सय ५० मेगावाट विद्युत् आयात गर्न पाउने व्यवस्था छ । एक वर्षका लागि हुनुपर्ने सम्झौता तीन महिनाका लागिमात्र नवीकरण गरेको भारतले विद्युत् परिमाण पनि घटाएको छ । असारपछि नेपालसँग पर्याप्त विद्युत् हुने र निर्यात समेत सुरु हुने भएकाले यो सिजनलाई आपूर्तिमा समस्या नहुने ऊर्जा मन्त्रालयले जनाएको छ । भारतबाट ५५४ मेगावाट विद्युत् आयात गर्दा पनि नेपालको माग धान्न सकिने अवस्था छ ।