मेलम्चीको काम अब नयाँ ठेकेदारमार्फत

काठमाडौं । नेपाल सरकारले अलमलमा रहेको मेलम्ची खानेपानी आयोजना अगाडी बढाउन नयाँ ठेकेदारलाई जिम्मा दिने भएको छ ।

इटालियन कम्पनी सीएमसीले काम अधुरै छाडि भागेपछि काठमाडौं बासीको प्यास मेट्ने खानेपानी आयोजना आफै अलमलमा परेको थियो । अब भने सरकारले विभिन्न १० प्याकेजमा यस आयोजनाको कामलाई अगाडी बढाउने तयारी गरिरहेको छ ।

आयोजनाले २ वटा प्याकेजको काम गर्न खुला बोलपत्र आह्वान गरेको छ । बाँकि ८ प्याकेजको काम पुरानै स्थानीय ठेकेदारमार्फत गराइने आयोजनाको भनाई छ ।

सीएमसीले आयोजनामा राखेका स्थानीय ठेकेदार कम्पनीलाई सोझै ठेक्का दिएर आयोजनाको बाँकि काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । प्राविधिक रुपमा जटिल प्रकारको काम भने नयाँ ठेकेदारबाट गराउने आयोजनाको तयारी छ ।

सरकारले नीति तथा कार्यक्रम र बजेटमा आगामी आव भित्रै मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणा गरेको छ । त्यसो त सरकारले यसरी घोषणा गर्न लागेकै लामो समय भइसकेको छ ।

आयोजनामा अब पानी थुन्ने संरचना, पहुँचमार्ग, कभर ड्याम, फ्लसिङ सिस्टमलगायत थुप्रै काम गर्न बाँकि छ । उता, सुरुङमा पनि आधारभूत तहदेखिकै काम गर्न बाँकि रहेको छ ।

सरकारले आगामी आव २०७६\७७ को बजेटमा मेलम्ची खानेपानी आयोजनालाई ७ अर्ब ३९ करोड रुपैयाँ रकम विनियोजन गरेको छ ।

सीएमसीले पुस २ मा ठेक्का तोकेको पत्र सरकारलाई थमाउँदै काम छाडी भागेको थियो । त्यसपछि सरकारले पनि औपचारिक रुपमा उक्त कम्पनीसँग ठेक्का तोड्ने निर्णय गरेको थियो ।