काठमाडौं । नेपाल ए ले पहिलो टी–२० अभ्यास खेल आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी–२० र एक दिवसीय सिरिज हुनेछ । विहीबार वर्षाको कारण पहिलो खेल रद्द भएको थियो ।
त्यसैले क्यानले तालिका परिवर्तन गरेको थियो । नेपाल ए र आयरल्यान्ड ए बीच तीन टी–२० खेल शुक्रबार, शनिबार र सोमबार हुनेछ । त्यस्तै तीन एकदिवसीय खेल चैत २१ (बुधबार), चैत २३ (शुक्रबार) र चैत २५ (आइतबार) हुनेछ । शुक्रबार बिहानैदेखि काठमाडौंमा कालो बादल लागेको छ । दुबै टोलीलाई वर्षाको डर छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका आज दिउँसो पनि काठमाडौंमा पानी पर्ने सम्भावना छ । कीर्तिपुरसहित काठमाडौं उपत्यकाभर मध्याह्न १२ बजेपछि पानी पर्ने सम्भावना छ । मौसमविदले शनिबारसम्मै बदली र वर्षाको सम्भावना औंल्याएका छन् ।